
एकपछि अर्को विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको पाचौं मुख्यमन्त्री बनेका छन् ।
विद्यार्थी जीवनमा विद्रोहीको पहिचान बनाएका कार्कीले मुख्यमन्त्री बन्दा आफ्नै पाटीका सभापति शेरबहादुर देउवासँग पनि विद्रोह गरे । सत्ता गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेको थियो ।
तर सत्ता गठबन्धनको निर्णय सार्वजनिक भइसक्दा कार्कीले एमालेसँगको सेटिङ गरेका थिए । त्यही सेटिङले उनलाई मुख्यमन्त्री बनाएको छ ।
सत्ता गठबन्धनसँग आक्रामक बनेका कार्कीले एमालेसँग पनि विद्रोह नै गर्नु पर्ने अवस्था बनेको छ ।
कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र कांग्रेसकै संस्थापन इतरका शेखर कोइरालाले गठबन्धन कायम राख्ने भनेपछि त्यहाँ पनि उनको विद्रोह हुने संकेत देखिएको छ ।
कोशी प्रदेशमा सरकार निर्माणको सकस परेका बेला साथ दिएको एमालेका लागि दाँतमा ढुङ्गा लागे जस्तै हुने भएको छ ।
आफूलाई मुख्यमन्त्री बनाउन साथ दिएका सांसदलाई मन्त्री बनाउने भनेर बोलेका कार्कीका लागि पुन चुनौती थपिएको छ ।
कांग्रेसका संस्थापन इतरका कार्कीले संसदीय दलको नेता बन्दा ९ मत पाएका थिए ।
सरकार बनाउँदा उनका पक्षमा भने ८ जनाले मात्रै हस्ताक्षर गरेका थिए । २९ सांसदमध्ये ९ जनाको मात्र मत प्राप्त गर्दा उद्धव थापा १८ मतसहित निर्वाचित भएका थिए ।
जनता उच्च माध्यमिक विद्यालय इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापतिबाट राजनीति शुरू गरेका कार्कीले २०५२ सालमा नेविसंघकै क्याम्पस इकाई सभापति भएका थिए ।
नेविसंघकै क्षेत्रीय सभापति हुँदै उनी जिल्ला सभापतिसम्म बने । २०५९ मा जिल्ला सभापति बनेका कार्की २०६३ सालमा केन्द्रीय सदस्य बने । उनी प्रमुख सचेतकसमेत बनेका थिए ।
प्रदेशसभामा पहिलो कार्यकालमा उनी संसदीय दलको प्रमुख सचेतक बनेका थिए ।
उनी २०७८ भदौदेखि २०७९ पौषसम्म कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत बनेका थिए ।
कोशीमा यसअघि विश्वासको मत नपाउने अवस्था बनेपछि असोज २० गते एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढेको थियो ।