
कोशी प्रदेशमा सत्ताको किचलोले ९ महिनामा ५ मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा हालसम्म ३ जना मुख्यमन्त्री बनिसकेका छन् ।
संस्थापक मुख्यमन्त्री नेकपा एमालेका नेता शेरधन राई बने । उनले झण्डै साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरे । उनी २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २०७८ भदौ १० गतेसम्म प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए ।
नेकपा एमाले फुटको असर रोक्नका लागि त्यसपछि भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । एमाले विभाजनको असर रोक्नका लागि राईलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो ।
नेकपा एमालेको उर्वरभूमि मानिएको कोशी प्रदेशमा पार्टी विभाजनको असर नदेखाउन आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो ।
आचार्य २०७८ भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ कात्तिक १६ गते अल्पमतमा परेपछि उनले राजीनामा दिएका थिए । दोस्रो कार्यकालमा सबै भन्दा छोटो समय अर्थात् दुई महिना ६ दिन मुख्यमन्त्री बनेका थिए आचार्य ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजावादीका राजेन्द्र राई त्यसपछि तेस्रो मुख्यमन्त्री बने । त्यति बेला राईसहित १० जना एकीकृत समाजवादीमा आएका थिए ।
तेस्रो मुख्यमन्त्रीमा राजेन्द्र राई २०७८ कात्तिक १६ गते नियुक्त भए । उनले २०७९ पुस २५ गतेसम्म कोशी प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए । उनी १४ महिना मुख्यमन्त्री भए ।
पहिलो कार्यकालमा राजनीतिक उतारचढावबीच ३ जनाले सरकारको नेतृत्व सम्हाले । केन्द्रीय अस्थिरताका कारण मात्रै तत्कालीन प्रदेश १ मा असर परेको थियो ।
दोस्रो कार्यकालमा अंकगणितका कारण शुरूदेखि नै अस्थिर बनिरहेको छ ।
केन्द्रीय सत्ता गठबन्धनमा भएको उथलपुथलले कोशी प्रदेशमा झन् संकट निम्तिएको छ ।
राष्ट्रपतिको निर्वाचनलाई लिएर माओवादी केन्द्रले सत्ता गठबन्धन परिवर्तन गरेसँगै कोशी प्रदेशमा राजनीतिक मात्रै नभई संवैधानिक संकटको समेत सामना गर्नु परेको छ ।
दलीय शक्ति हत्याउन पटक-पटक संविधानविरोधी र अराजनीतिक हर्कत गर्न दुवै पक्ष पछि नपर्दा अदालतले बाटो देखाउनुपरेको थियो । सहजै विश्वासको मत पाउने अवस्था नभए कोशी मध्यावधिको डिलमा समेत पुगेको छ ।
२०७९ पुस २४ गते माओवादी केन्द्र तथा जसपाको समर्थनमा हिक्मत कार्की दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । ६ महिना बित्न नपाउँदै कार्की नेतृत्वको सरकार ढल्यो । गत असार १५ गते विश्वासको मत नपाएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो ।
माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि उद्धव थापा मुख्यमन्त्री बने । थापा पाँचौं मुख्यमन्त्री बनेका हुन् । कोशीमा पहिलो कार्यकाल कांग्रेसले मुख्यमन्त्री बन्ने अवसर पाएको थिएन ।
तर थापामाथि संवैधानिक संकटसमेत आइलाग्यो । सभामुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्री बनेका थापाविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । मुख्यमन्त्री बनेको २२ दिन मै उनी पदमुक्त भए ।
उनी पहिलो पटक असार २१ गते मुख्यमन्त्री बनेका थिए । त्यसपछि उनी गत साउन १६ गते मुख्यमन्त्री बने । उनको दोस्रो कार्यकाल पनि फलदायी बनेन । भदौ २१ उनलाई पुनः सर्वोच्चले पदमुक्त गरिदिएको थियो ।
पहिलोपटक २२ दिनमा सर्वाेच्च अदालतबाट पदमुक्त बनेका थापा दोस्रो पटक ३८ दिनमा सर्वाेच्चबाटै पदमुक्त बनेका थिए ।
पहिलोपटक सभामुखलाई हस्ताक्षर गराएका र दोस्रोपटक प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाई जबरजस्ती आफ्नो पक्षमा मतदान गराउँदा उनी पदमुक्त बने । राजेन्द्र राईले दोस्रो कार्यकालमा छोटो समय सत्ताको बागडोर चलाएका थिए ।
त्यसपछि हिक्मत हुँदै केदार कार्कीसम्म मुख्यमन्त्री बनेका छन् ।
सविधानतः अन्तिम सरकारका रुपमा केदार कार्की मुख्यमन्त्री बनेका छन् । अब कार्कीले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत पाउन नसके कोशी मध्यावधि निर्वाचनमा जानेछ । अहिलेसम्मको अवस्था हेर्दा दोस्रो कार्यकालमा ५ जना मुख्यमन्त्री बनेका छन् ।
कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै प्रभाव परेपछि दुवै पक्षलाई बहुमत पुग्ने अवस्था आउन सकेन । बहुमत पुग्ने अवस्था आउँदा एकले अर्कोलाई रोक्ने खेल हुँदै कोशीका कांग्रेसमा विद्रोह हुने अवस्थासम्म आइपुगेको छ ।
मुख्यमन्त्रीका लागि एउटै दल कांग्रेसका सांसदको हस्ताक्षरले दिएको तनाव तत्काललाई साम्य भएर कार्की मुख्यमन्त्री बनेका छन् । तर मुख्यमन्त्रीले सरकार गठन गर्दा कुन दललाई समेट्छन् र कसरी विश्वासको मत प्राप्त गर्छन् भन्ने जटिलतातिर कोशी पुगेको छ ।