
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीले गरेको सशस्त्र संघर्षलाई जनताको पर्वको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
गणतन्त्रलाई महान उपलब्धि भन्ने तर, गणतन्त्र ल्याउने जनयुद्धलाई अपराधीकरण गर्ने कुरा मान्य नहुने उनको भनाइ छ ।
आइतवार बझाङ सदरमुकाम चैनपुरमा आयोजित कार्यक्रममा विप्लवले माओवादी जनयुद्धलाई नेपाली जनताको पर्वको रुपमा स्थापित गर्न नमान्नेविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
‘जनयुद्धका शहीदलाई राष्ट्रिय शहीदको मान्यता दिने क्रम शुरु भएको छ, जनयुद्ध माओवादीको मात्र नभइ श्रमजीवी बर्गले गरेको विद्रोह हो ।
इतिहासमा सबभन्दा धेरै बलिदान भएको र उपलब्धि भएको विद्रोह’ विप्लवले भने, ‘कतिपय अन्तराष्ट्रिय तत्व, साम्राज्यवादी र जालीफटाहाले जनयुद्धलाइ माओवादीको हिंसात्मक आन्दोलन भन्छन्, नेपाली जनताले गरिएको विद्रोहलाई अपमान गर्ने छुट कसैलाई छैन ।’
सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा त्यसको विरोध भइरहेको छ । ‘जनयुद्धलाई नेपाली जनताको पर्वको रुपमा स्थापित गर्न मानिँदैन भने, जनयुद्धलाई अपराधीकरण गर्ने पर्यन्त गर्न खोजिन्छ भने गम्भीर परिणाम आउनेवाला छ । गणतन्त्रलाई महान भन्ने, जन्माउने शहीदलाई अपमान गर्न मिल्छ ?’