
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन भत्काउन कोशीबाट शुरू भएको षड्यन्त्र निस्तेज पारिएको दाबी गरेका छन् ।
सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले काम गर्दा गठबन्धनविरुद्ध षड्यन्त्र भएको उनको भनाइ थियो ।
चितवनको भरतपुरमा ३ वटा खानेपानी आयोजनाको आइतवार उद्घाटन गर्दै प्रचण्डले कहिले सत्तामा फर्किन पाइँदैन कि भनेर निकै विच्छिप्त भएकाले कोशीमा षडयन्त्र शुरू गरेको आरोप लगाएका हुन् ।
‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विच्छिप्त भएर त्यो कदम चाले’ प्रचण्डले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षडयन्त्र निस्तेज पारिएको छ । हामीले जे समझदारी गरेका छौ त्यसबाट गठबन्धन पूरै कार्यकाल चल्छ ।’
सरकारले भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउन लागेपछि गठबन्धनविरुद्ध षडयन्त्र शुरू भएको उनले आरोप लगाए । नेकपा एमालेको समर्थनमा कांग्रेसको कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बनेपछि हिजो देउवा र कोइरालासँग प्रचण्डले १ बुँदे सहमति गरेका थिए ।