महिलातर्फ टी–ट्वान्टी इन्टरनेसनलमा रेकर्डहरूको वर्षा भएको छ । चिली र अर्जेन्टिनाका महिला टोलीहरूबीचको खेलमा रेकर्ड नै रेकर्ड बनेको हो ।
निर्धारित २० ओभरमा १ विकेट गुमाएर ४२७ रन जोडेको अर्जेन्टिनी महिला टोली ३६४ रनको फराकिलो अन्तरले विजयी भयो । यो दुवै विश्व रेकर्ड हो ।
यसअघि सर्वाधिक रनको कीर्तिमान बहराइनको महिला टोलीका नाममा थियो । उसले १ विकेट गुमाएर ३१८ रन जोडेको थियो ।
लुसिया टेलरले १६९ र अल्ब्रेन्टिना गलनले १४५ रनको पारी खेले । टेलरको यो रन सर्वाधिक 'इन्डिभिजुअल' स्कोरको विश्वकीर्तिमान हो । अचम्मको कुरा यी दुवैले आफ्नो पूरा इनिङमा चौका मात्र प्रहार गरे ।
यी दुईले सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनाए । उनीहरूले पहिलो विकेटका लागि ३५० रनको साझेदारी गरेका थिए ।
यस खेलमा अन्य केही अनौठा रेकर्ड पनि बनेका छन् । सर्वाधिक नो बल र सर्वाधिक अतिरिक्त रनको कीर्तिमान पनि यही खेलमा बन्यो ।
चिलीको टीमले ६४ वटा नो बल फालेको थियो भने ७३ रन एक्स्ट्रा दिएको थियो ।
एकै ओभरमा सर्वाधिक रन (५२) को कीर्तिमान पनि यही खेलमा बनेको छ । साथै एकै बलरले ४ ओभरमा ९२ रन दिएको नकारात्मक कीर्तिमान पनि चिलीकी कन्स्टान्जा यार्सेले बनाएकी छन् ।
केही समयअघि मंगोलियासँग खेल्दा नेपालले पुरुषतर्फका ठूल्ठूला रेकर्ड तोडेको थियो ।
अर्जेन्टिनी महिला टोलीको यो रेकर्डले नेपालको पुरुषतर्फको रेकर्डलाई भने कुनै असर गर्दैन ।