
पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।
पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएको थियो । त्यसपछि तत्कालका लागि पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान थालिएको थियो । सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनःतोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन् ।
मान्द्रेढुङ्गा दुरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन । तोरीपानी क्षेत्रबाट पुनःउडान सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । पहिलो दिन उडानमा जाने पर्यटकलाई स्थानीयले माला र टीका लगाएर स्वागत गरे ।