
पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । आइतवार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो ।
स्थानीयले खबर गरेलगत्तै डिभिजन वन कार्यालय पर्वतका कर्मचारी र बाच्छा प्रहरी चौकीको टोली उक्त स्थानमा पुगेको थियो ।
मृत चितुवालाई कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा बाच्छा प्रहरी चौकीको परिसरमा गाडिएको छ ।
डिभिजन वन कार्यालय पर्वतका प्रमुख नवराज बरालका अनुसार झण्डै दुई वर्षजति उमेरको देखिने चितुवा के कारणले मर्यो भन्ने पुष्टि हुनसकेको छैन । चितुवाको शरीरमा कुनै घाउ चोट भने नदेखिएको बरालले बताए ।
गत आर्थिक वर्षमा पर्वतमा ९ वटा चितुवा मृत फेला परेका थिए भने दुई वटाको जीवितै उद्धार गरिएको थियो ।
चालु आवमा गत भदौ १४ गते मोदी गाउँपालिका–७ राम्दादेउरालीमा चितुवा मृत भेटिएको थियो ।