२२ जेठ २०८३, शुक्रबार

रोनाल्डोका २ गोलको मद्दतले पोर्चुगलको फराकिलो जीत, ८ खेलमा शतप्रतिशत नतिजासहित समूह विजेता

असोज ३०, २०८०
काठमाडौं
रोनाल्डोका २ गोलको मद्दतले पोर्चुगलको फराकिलो जीत, ८ खेलमा शतप्रतिशत नतिजासहित समूह विजेता

कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि पोर्चुगलले युरोकप फूटबल प्रतियोगिताको छनोटमा बोस्निया एन्ड हर्जगोभिनामाथि फराकिलो जीत निकालेको छ ।

सोमवार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली बोस्निया एन्ड हर्जगोभिनामाथि ५–० गोल अन्तरको फराकिलो जीत निकालेको हो ।

सबै गोल पहिलो हाफमै सम्भव भएका थिए । रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेलको पाँचौ मिनेटमै पोर्चुगलको खाता खोलेका थिए । त्यसपछि २० औँ मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर बनाए । 

यसपछि पनि पोर्चुगलको आक्रमण रोकिएन । ब्रुनो फर्नान्डेले २५ औँ मिनेटमा तेस्रो गोल थपे । जाओ कान्सेलो र जाओ फेलिक्सले क्रमशः ३२ र ४१ औँ मिनेटमा गोल गरेपछि पोर्चुगलले मध्यान्तरअघि नै ५ गोलको अग्रता लियो । तर, दोस्रो हाफमा कुनै गोल नभएपछि खेल ५–० मै सकियो । 

आगामी वर्ष जर्मनीमा हुन गइरहेको युरोकपमा पोर्चुगल यसअघि नै छनोट भइसकेको थियो, तर यस जीतले समूह ‘जे’को विजेता बनेको छ ।

जारी छनोटमा ८ खेल खेल्दा पोर्चुगलले शतप्रतिशत जीत निकाल्दै २४ अंक बनाएको छ । अझै २ खेल बाँकी रहँदा स्लोभाकिया १६ अंकसहित दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना भने छनोट प्रतिस्पर्धाबाट बाहिरिएको छ ।    

सोमवार राति नै भएको खेलमा अजरबैजानलाई पराजित गर्दै अष्ट्रिया युरोकपमा छनोट भएको छ । घरेलु टोली अजरबैजानलाई १–० गोलको झिनो अन्तरले हराउँदै अष्ट्रियाले टिकट पक्का गरेको हो ।

अष्ट्रियाको जीतमा मार्सेल सबिट्जरले निर्णायक गोल गरेका हुन् ।

ग्विडो बर्गस्टालरले रातो कार्ड खाएपछि अष्ट्रिया अन्तिम समय १० खेलाडीमा सीमित भएको थियो ।

यस्तै अर्को खेलमा ग्रीसलाई १–० ले हराउँदै एक पटकको विजेता नेदरल्यान्ड्सले सिधै छनोट हुने सम्भावना जीवितै राखेको छ । 

नेदरल्यान्ड्सको जीतमा कप्तान भर्गिल भान डाइकले इन्जुरी समयमा पेनाल्टीमार्फत् निर्णायक गोल गरेका थिए ।

यस जीतसँगै समूह ‘बी’ रहेको नेदरल्यान्ड्स सिधै छनोट हुनलाई उपर्युक्त दोस्रो स्थानमा उक्लिएको छ । यो समूहबाट फ्रान्स छनोट भइसकेको छ ।

ग्रीस पनि समान १२ अंकका साथ नेदरल्यान्ड्ससँग हेड टू हेडमा पछि पर्दै तेस्रो स्थान अर्थात प्लेअफ खेल्ने ठाउँमा छ । ग्रीसले एक खेल बढी खेलेकाले सिधै छनोट हुने नेदरल्यान्ड्सको सम्भावना बलियो छ ।   

अष्ट्रिया छनोट भएसँगै युरोकपमा लागि आयोजक जर्मनीसँगै ८ टोलीले टिकट पक्का गरिसकेका छन् ।

फ्रान्स, पोर्चुगल, बेल्जियम, स्पेन, स्कटल्यान्ड र टर्कीए यसअघि नै छानिएका थिए । युरोकपमा २४ टोलीले खेल्न पाउँछन् । अरु छनोट हुन बाँकी छ । 

सोमवार राति भएका ६ खेलको नतिजाः 

null

salt training

कमेन्ट गर्नुहोस्