११ असार २०८३, बिहीबार

जन्मदिनमा राष्ट्रपतिको शुभेच्छाले राष्ट्रकविमा छाएको खुशी...

कात्तिक २०, २०७४
जन्मदिनमा राष्ट्रपतिको शुभेच्छाले राष्ट्रकविमा छाएको खुशी...
प्रकाश सिलवाल

काठमाडौँ, ७ असोज - ‘एक शताब्दीदेखि राष्ट्रिय भावनाले ओतप्रोत नेपाली भाषा, साहित्यलाई स्तरीय बनाउने अभियानमा तपाइँका सिर्जनात्मक शतकार्य स्तूत्य छन् ।’ आफ्नो ९९ औँ जन्मोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त शुभेच्छाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पुलकित बनायो ।madav

जन्मदिनका दिन बिहानदेखि साहित्यिक शुभेच्छुक र आफन्तले शुभकामना दिइरहेका बेला साँझ राष्ट्रपति भण्डारीको सचिवालयबाट घिमिरेलाई उक्त सन्देश र पुष्पगुच्छा प्राप्त भएको थियो । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्मा र स्वकीय उपसचिव शिव भट्टराईले सो सन्देश हस्तान्तरण गरेपछि घिमिरेले भन्नुभयो, “सम्माननीयज्युमा मेरो कृतज्ञता जाहेर गरिदिनुहोला ।”

‘राष्ट्रकवि जस्तो गरिमामय साहित्य सम्मानबाट सम्मानित तपाइँको एक शताब्दीको सफल र क्रियाशील जीवनको प्रशंसा गर्दै शुभजन्मोत्सवका अवसरमा मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ राष्ट्रपतिको सन्देशमा प्रयुक्त भाव र भाषाशैलीको पनि घिमिरेले प्रशंसा गर्र्दै आफूलाई खुशी लागेको बताउनुभयो । सन्देश ग्रहणपछि राष्ट्रकवि घिमिरेले भन्नुभयो, “राष्ट्रको माथिल्लो (मूल) स्थानबाट यो शुभकामना आउनु सामान्य छैन । जुन गरिमा र अभिव्यक्तिबाट आएको छ, यो विशिष्ट छ ।”

यो उमेरमा पनि साहित्यिकरुपमा सक्रिय र उत्साहपूर्ण जीवन गुजारिरहनुभएका घिमिरेले यस्ता शुभकामनाले आफूलाई बाँच्न थप प्रेरणा मिल्ने प्रतिक्रिया दिनुभयो । शुभकामना दिन आएमा पाहुनालाई निवासको भुइँतलाको बैठक कक्षमा भेट्न उहाँ दोस्रो तलबाट भ¥याङ्बाट आफैँ ओर्लनुभएको थियो ।

उहाँको परिवारका सदस्यका अनुसार आज बिहानदेखि शुभकामना दिन आउनेको लर्काे लागेको थियो । फलफूल, माला, खादा तथा साहित्यिक पुस्तक घिमिरेलाई उपहार दिइएको थियो । राष्ट्रकविले आफू ९९ वर्ष पुगेको भन्नुको साटो १०० पुग्न एक वर्ष बाँकी भनेर मुस्कान भाव प्रस्तुत गर्नुभएको थियो ।

लमजुङ जिल्लाको पुस्तुनमा १९७६ असोज ७ गते जन्मनुभएका घिमिरे महाकाव्य, खण्डकाव्य, कविता र गीतका सिर्जनाबाट सिद्धहस्त र लोकप्रिय हुनुहुन्छ । उहाँका ‘शाकुन्तल’, ‘गौरी’, ‘किन्नर किन्नरी’ आदि कृति लोकप्रिय छन् भने ‘गाउँछ गीत नेपाली...’ जस्ता थुप्रै राष्ट्रियभावका गीत सिर्जना गर्नुभएको छ । उहाँ स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली शब्दशिल्पी मानिनु हुन्छ ।

विगत केही वर्षदेखि उहाँ ‘ऋतम्भरा’ महाकाव्य सिर्जनामा लाग्नुभएको छ । प्रकाशोन्मुख सो महाकाव्यको यो पंक्तिलाई उहाँले प्रायः उल्लेख गर्दै आउनुभएको छ ः

‘यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी
नौला कुरा जति सुझे पनि सुझ्न बाँकी’

हँसिलो चेहराका साथ घरमा आएका पाहुनालाई बिदाई गर्दै घिमिरेले भन्नुभयो, “मैले जीवनमा पाएको चिज यति हो, धेरै कृतज्ञ छु ।”

salt training

कमेन्ट गर्नुहोस्