
राष्ट्रिय पारा खेलाडीहरूलाई एनसेलले सहयोग गरेको छ । यही कात्तिक ५ गतेदेखि ११ गतेसम्म चीनको ह्वाङझाओ शहरमा हुन गइरहेको चौंथौ पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीहरूलाई एनसेलले सहयोग गरेको हो ।
पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे ।
एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ ।
यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा १९ जना नेपाली पारा खेलाडीहरू आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।
‘देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरू पार गर्दै आफ्नो सपनाप्रति दृढ विश्वासका साथ अघि बढेका हाम्रा पारा खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् । आफ्नो खेल प्रतिको उहाँहरूको लगनशीलता र इच्छा शक्तिको एनसेल हार्दिक सम्मान गर्दछ’ एनसेलले भने, ‘यही विश्वासलाई अझै एक बलियो साथ प्रदान गर्दै एनसेलले पारा खेलाडीहरूको समग्र विकास र आवश्यक प्रशिक्षणका लागि एनपीसीसँग सहकार्य गरेको छ ।’
नेपालको प्रतिनिधित्व गर्दै नेपालका राष्ट्रिय पारा खेलाडी आज राति ह्वाङझाओ प्रस्थान गर्दै छन् ।
राष्ट्रिय पारा टिमसँग आबद्ध हुन पाएकोमा एनसेल खुशी व्यक्त गरेको छ ।