०५ साउन २०८३, मंगलबार

पाथीभरा दर्शनका लागि एकै दिन पुगे २ हजारभन्दा बढी तीर्थयात्री

असोज ३०, २०८०
ताप्लेजुङ
पाथीभरा दर्शनका लागि एकै दिन पुगे २ हजारभन्दा बढी तीर्थयात्री
फाइल फोटो

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । 

मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्र शुरू भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो । नवरात्र शुरू भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन् ।

यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस काउण्ट) गर्ने सीसी क्यामेरा जडान गरिएको छ । नवरात्रका समयमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको बताइएको छ ।

अन्य दिनको तुलनामा शनिवार र मङ्गलवार भने पाथीभरामा भक्तजनको चाप निकै बढ्ने गरेको छ । अघिल्ला वर्षहरुमा दशैंको समयमा पर्ने शनिवार र मङ्गलवारका दिन एकै दिनमा दश हजार भक्तजन पुगेको तथ्याङ्क छन् ।

वार्षिक लाखौंको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् ।

भक्तजनको आगमन बढेसँगै पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने जस्ता प्रबन्धलाई व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी थप व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।​

तीर्थयात्रीको चाप बढ्दै गएपछि सहजरुपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्