०५ साउन २०८३, मंगलबार

गाजाको एक अस्पतालमा भएको हमलाप्रति विश्वभर आक्रोशः कसले के भने ?

कात्तिक २, २०८०
काठमाडौं
गाजाको एक अस्पतालमा भएको हमलाप्रति विश्वभर आक्रोशः कसले के भने ?

पेरिस–गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ । 

उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलले उक्त हमला गरेको आरोप लगाएको छ । इजराइली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले गलत रकेट आक्रमण गरेको आरोप लगाएको छ । 

उक्त हमलाप्रति यहाँ केही प्रमुख प्रतिक्रिया छन्:

संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले गाजाको अस्पतालमा सयौँ प्यालेस्टिनी नागरिक मारिने गरी भएको हमलाबाट आफू भयभीत भएको बताए । उनले हमलाप्रति कसैलाई आक्षेप नलगाई हमलाको कडा भर्त्सना गरे । 

अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटबाट आफू आक्रोशित र अत्यन्त दुःखी भएको भन्दै विस्फोटबाट जीवनको भयानक क्षति भएको बताए । 

उनले उक्त खबर सुन्नेबित्तिकै आफूले तुरुन्तै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग कुराकानी गरेको जानकारी दिए । 

इजिप्ट

राष्ट्रपति अब्देल फताह अल–सिसीले अहली अस्पतालमा इजराइली बमबारीको कडा शब्दमा भर्त्सना गरे । उक्त हमलाबाट गाजामा प्यालेस्टिनी नागरिकमध्ये सयाँै निर्दोषको मृत्यु भएको उनले बताए । 

उनले नियोजितरूपमा भएको बमबारीलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन हो भने । 

साउदी अरेबिया

क्षेत्रीय शक्ति साउदी अरेबियाले नागरिकहरूमाथि इजराइलको निरन्तर हमलाको निन्दा गरेको छ । उसले अस्पतालमा भएको हमलालाई सबै अन्तर्राष्ट्रिय कानून र मान्यताहरूको स्पष्ट उल्लङ्घन हो भनेको छ ।  

जोर्डन

जोर्डनको विदेश मन्त्रालयको एक विज्ञप्तिमा इजराइलले उक्त हमलाको जिम्मेवारी लिनुपर्ने भन्दै हमलाको कडा निन्दा गरेको छ । 

त्यसपछि अम्मानले मध्यपूर्वमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने एक शिखर सम्मेलन रद्द गर्ने घोषणा गर्यो र त्यसको जवाफमा बाइडेनले अम्मानको भ्रमण स्थगित गरे । 

अम्मानस्थित इजराइली दूतावासमा दर्जनौँ प्रदर्शनकारीले हमला गर्ने असफल प्रयास गरेका थिए । 

युरोपेली युनियन

युरोपेली युनियनको विदेशमामिला प्रमुख जोसेप बोरेलले खेद प्रकट गर्दै एकपटक पुनः निर्दोष नागरिकले उच्च मूल्य चुकाउनुपरेको बताए । 

‘यो अपराधको जिम्मेबारी स्पष्टरूपमा स्थापित गर्नुपछ र अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

इरान

इरानका राष्ट्रपति इब्राहिम रइसीले बुधबार सार्वजनिक शोक दिवस घोषणा गरे । उनले अस्पतालमा भएको हमलाको बदला इजराइल र उसको सहयोगी अमेरिकाविरुद्ध हुने बताए । 

‘गाजाका अस्पतालमा घाइते प्यालेस्टिनी पीडितहरूमाथि आज साँझ खसाइएको अमेरिकी–इजराइली बमहरूको ज्वालामा चाँडै नै यहुदीहरू जल्नेछन्,’ राष्ट्रपति रइसीको भनाइ उद्धृत गर्दै इर्ना समाचार समितिले भनेको छ । 

    राति नै तेहरानस्थित बेलायती र फ्रान्सेली दूतावासबाहिर सयौँ प्रदर्शनकारी जम्मा भएका थिए । आफ्नो आक्रोश पोख्न मध्य तेहरानको प्यालेस्टाइन स्क्वायरमा हजारौँ जनता भेला भएका थिए । 

इराक

इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीले एक विज्ञप्तिमा ‘आक्रामण’ अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट ‘तत्काल समाधान’ का लागि आह्वान गरे ।

इराकी सरकारले हमलाका पीडितहरूका लागि तीन दिनको शोकको घोषणा गरेको छ । 

टर्कीए

टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले घटनाप्रति खेद व्यक्त गर्दै सबैभन्दा आधारभूत मानवीय मूल्यहीन इजराइली आक्रमणको पछिल्लो उदाहरण हो भने ।  

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘गाजामा यो नृशंस कार्यलाई रोक्न म सबै मानवतालाई आमन्त्रित गर्दछु ।’

फ्रान्स

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अस्पतालमा घातक हमला गरेर कुनै पनि कुराले सर्वसाधारणलाई निशाना बनाउनुको औचित्य स्थापित गर्न नसक्ने बताए । ‘गाजापट्टीमा मानवीय पहुँच खोल्न ढिलो गर्न हुन्न,’ उनले भने ।

हेजबोल्लाह

इरान समर्थित लेबनानको हेजबोल्लाह मुभमेन्टले मङ्गलवार गाजापट्टीको अस्पतालमा भएको हमलाको निन्दा गर्न ‘क्रोध दिवस’का रूपमा आह्वान गरेको छ । उसले उक्त हमलालाई ‘नरसंहार’ भन्दै हमलाका लागि इजराइललाई दोषी ठहर गरेको छ ।  

‘बुधवार शत्रुका विरुद्ध क्रोध दिवस हो,’ हमासको सहयोगी हेजबोल्लाहले विज्ञप्तिमा भनेको छ, । उसले हमलालाई नरसंहार र क्रुर अपराधको संज्ञा दिएको छ । 

बेरुतको उपनगर अवकरस्थित अमेरिकी दूतावासबाहिर सयौँ प्रदर्शनकारी र लेबनानी सुरक्षा फौजबीच झडप भएपछि हेजबोल्लाहको उक्त भनाइ आएको हो । प्रदर्शनकारीहरूले ‘इजराइल मूर्दाबाद’ र ‘अमेरिका मूर्दाबाद’ भन्ने नारा लगाएका थिए । 

अरब लिग

अरब लिगका प्रमुख अहमद अबुल गेटले पश्चिमा मुलुकहरूले यो त्रासदीलाई तुरुन्तै रोक्नुपर्ने बताए । ‘हाम्रो अरब संयन्त्रले युद्ध अपराधको दस्तावेजीकरण गर्छ र तिनीहरूका अपराधी न्यायबाट उम्किन सक्तैनन्,’ उनले चेतावनी दिँदै भने । 

अफ्रिकी युनियन

 अफ्रिकी युयिननका प्रमुख मुसा फाकी महामतले घातक हमलापछि इजराइलमाथि ‘युद्ध अपराध’ को आरोप लगाए । “सयौँ मानिस मारिने गरी आज गाजाको अस्पतालमा भएको इजराइली बम हमलाप्रति खेद प्रकट गर्न हामीसँग पूरारूपमा शब्द नै छैन”, इजराइलमाथि अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै उनले भने ।

कतार

कतारको विदेश मन्त्रालयले हमलालाई ‘क्रुर नरसंहार’ र ‘रक्षाहीन सर्वसाधारणविरुद्ध जघन्य अपराध’ भनेको छ । एक विज्ञप्तिमा कतारले अहली अरब अस्पतालमा भएको हमलालाई ‘अन्तर्राष्ट्रिय कानूनका प्रावधानहरूको गम्भीर उल्लङ्घन’ र “भिडन्तका क्रममा भयानक वृद्धि” भनेको छ । 

ट्युनिसिया

मङ्गलवार ट्युनिसियाको राजधानीस्थित फ्रान्सेली दूतावासबाहिर सयौँ क्रुद्ध प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले अस्पतालमा भएको हमलाप्रति अमेरिकाको निन्दा पनि गरेका थिए । ‘फ्रान्सेली र अमेरिकीहरू यहुदीका सहयोगी हुन्’ भन्दै प्रदर्शनकारीले नारा लगाएको थिए । 

प्रदर्शनकारीहरूले दुवै देशका राजदूतहरूलाई फिर्ता गर्न माग गर्दै ट्युनिसियाली भूमिमा अमेरिकी दूतावास हुनुहुन्न भन्ने नारा लगाएका थिए ।

डब्लूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले घातक हमलाप्रति खेद प्रकट गर्दै गाजापट्टीमा नागरिक र स्वास्थ्य सेवाको तत्काल सुरक्षाको माग गरेको छ । ‘अल अहली अरब अस्पतालमा भएको आक्रमणको डब्लुएचओले कडा भर्त्सना गर्दछ,’ डब्लूएचओले एक विज्ञप्तिमा भनेको छ, ‘अस्पताल चलिरहेको थियो, त्यहाँ बिरामी, बिरामीका हेरालु र आन्तरिकरूपमा विस्थापित मानिसहरूले आश्रय लिइरहेका थिए, प्रारम्भिक रिपोर्टले सयौँको मृत्यु भएको र घाइते भएको सङ्केत गर्दछ ।’

आईसीआरसी

इन्टरनेसनल कमिटी अफ दि रेड क्रस (आईसीआरसी)ले पनि ‘अस्पतालहरू मानव जीवन बचाउनका लागि आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशको दृश्य होइन’ भन्दै हमलाप्रति निन्दा गरेको छ । 

एमएसएफ

मेडिकल च्यारिटी डक्टर्स विदआउट बोर्डर्स (एमएसएफ)ले अस्पतालमा भएको हमलाप्रति खेद व्यक्त गरेको छ । ‘गाजा सहरस्थित अहली अरब अस्पतालमा भएको हालैको बमबारीबाट हामी भयभीत छौँ, अस्पतालका चिकित्सकहरूले बिरामीहरूको उपचार गरिरहेका थिए र विस्थापित गाजावासीलाई आतिथ्यता प्रदान गरिरहेका थिए,’ एमएसएफले भनेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्