
अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् ।
मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधवार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन्।
रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहेकाले साउदले नागरिकता लिन पाएका थिएनन् ।
बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाए । आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताविहीन भएको उनको भनाइ छ । “ढिलै भए पनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु”, उनले भने ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास शुरू गरेको छ ।
जसले गर्दा पछिल्लो समय भीडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।