
तेल अविव–इजरायल र हमासबीचको जारी द्वन्द्वका बीच इजरायली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजरायलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीवार तेल अविव आइपुगेका छन् ।
प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजरायलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजरायली समकक्षी बेन्यामिन नेतान्याहु र राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्ने उनको कार्यालयले जनाएको छ ।
‘प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतङ्कवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ,’ तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भनेका छन् ।
यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फसेका बेलायती नागरिकहरूलाई स्वदेश प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्ने पनि रोयटर्सले जनाएको छ ।
यसअघि सामाजिक सञ्जाल एक्समा सुनकले सयौँको ज्यान जाने गरी गाजाको अस्पतालमा भएको हमलाको निन्दा गरे । ‘अल अहबी अस्पतालको दृश्यबाट हामी सबै स्तब्ध भएका छौँ, हाम्रा जासुसी संयन्त्रले तथ्यहरूको स्वतन्त्ररूपमा स्थापित गर्न तीव्ररूपमा विश्लेषण गरिरहेको छ,’ उनले भने।
हरेक दिन युद्ध क्रुर हुँदै जाँदा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् ।