०७ असार २०८३, आइतबार

दशैंमा घर फर्किने यात्रु बोकेको बसका चालकले लागूपदार्थ सेवन गरेको भेटिएपछि ...

कात्तिक ३, २०८०
काठमाडौं
दशैंमा घर फर्किने यात्रु बोकेको बसका चालकले लागूपदार्थ सेवन गरेको भेटिएपछि ...
प्रतीकात्मक तस्वीरमा नागढुंगा

दशैंका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागूपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ ।

चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो । तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दशैंका यात्रु बोक्ने बसका चालक रहेका छन् ।

विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडौंको नागढुंगामा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज जानकारी दिए ।

उनका अनुसार ना७ख ५३२ नम्बरका ट्रकचालक धादिङको थाक्रे गाउँपालिका–२ का २९ वर्षीय रामकुमार सुवेदी, बा४ख ५७४८ नम्बरका बसचालक काठमाडौंको तारकेश्वर नगरपालिका–१ का २६ वर्षीय दीपेश सापकोटा, प्रदेश ३०१००६ख २५४६ नम्बरका ट्रकचालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ का ३१ वर्षीय रामकुमार गौतम र ना६ख ९६९३ नम्बरका बसचालक कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए । आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा र यात्राका क्रममा कुनै समस्या परेमा यात्रुले तत्काल नजिकैको यात्रु सहायता कक्ष, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं. १०३ र प्रहरीको हटलाइन नं १०० मा खबर गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष जाँच अभियान चलाइरहेको छ ।

चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सुरक्षा, सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकामा मापसे, लापसे लगायतका अन्य विशेष सवारीसाधन तथा चालकमाथि ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ ।

चाडपर्वको मौका छोपी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको अनुगमनका लागि सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको भट्टले बताए ।

प्रहरीले काठमाडौं उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्षमार्फत यात्रुलाई परेका विभिन्न समस्या समाधानसमेत गरिँदै आएको पनि प्रवक्ता भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्