०७ साउन २०८३, बिहीबार
हमास–इजरायल द्वन्द्व

इजरायलस्थित दूतावासको अनुरोध– लेबनान सीमामा खतरा बढ्यो, त्यहाँ रहेका नेपालीले सम्पर्क गर्नुस्

कात्तिक ५, २०८०
काठमाडौं
इजरायलस्थित दूतावासको अनुरोध– लेबनान सीमामा खतरा बढ्यो, त्यहाँ रहेका नेपालीले सम्पर्क गर्नुस्

लेबनानसँग सीमाना जोडिएको इजरायलकाे उत्तरी क्षेत्रमा सुरक्षा खतरा बढेकाले त्यहाँ रहेका नेपालीले सजगता अपनाउन तेल अविवस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

दूतावासले हालै एक सूचना जारी गर्दै क्विर्यात श्मोनासहितका बस्तीका मानिसलाई अन्यत्र सार्न शुरू गरिएको जानकारी दिँदै आफ्नो सुरक्षातर्फ आफैँ सचेत रहन अनुरोध गरेको हो ।

‘क्विर्यात श्मोनासहितका बस्तीबाट सुरक्षा खतरा बढेको जानकारी प्राप्त भएको छ । सो आसपास बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन हार्दिक अनुरोध गर्दछौं,’ दूतावासले भनेको छ, ‘सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा पर्नुभएकाहरूले दूतावासमा तुरुन्त जानकारी गराउनुहुन पुनः अनुरोध गर्दछौं ।’

दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल इजरायलको उत्तरतर्फ लेबनानसँगको सीमा क्षेत्रमासमेत रकेट तथा मिसाइल प्रहारका घटनामा बढोत्तरी हुँदै गएकाले सन्दर्भमा क्विर्यात श्मोना क्षेत्रका नेपालीहरू सचेत अनुरोध गरिएको दूतावासले जनाएको छ । 

‘केही समय यता इजरायलमा युद्धको अवस्था छ । दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल इजरायलको उत्तरी (लेबनानसँगको सीमा क्षेत्रमासमेत रकेट तथा मिसाइल प्रहारका घटनामा बढोत्तरी हुँदै गएको सन्दर्भमा यस्तो अनुरोध गरिएको हो, सूचनामा उल्लेख छ ।

सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेका नेपालीले तुरुन्त सम्पर्क गर्न र जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।

दूतावासले विस्तृत विवरण संकलन गर्न लागेकोले इजरायलबासी सम्पूर्ण नेपालीले दूतावासको वेब साइटमा राखिएको तथ्यांक संकलन फारम अनिवार्य भर्न पनि अनुरोध गरिएको छ ।  

‘इजरायलमा बस्ने हरेक नेपालीको सुरक्षाप्रति दूतावास गम्भीर छ, परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने परिस्थितिमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण संकलन गर्न लागेकोले इजरायलबासी सम्पूर्ण नेपालीले दूतावासको वेब साइटमा राखिएको तथ्यांक संकलन फारम अनिवार्य भर्नुहुन हार्दिक आह्वान गर्दछौं,’ सूचनामा भनिएको छ, ‘यसअघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका लागि भएकोले इजरायलबासी सबै नेपालीले यो अनलाइन रजिष्ट्रेसन फारम अनिवार्य रुपमा भर्नुहोला, नजान्नेले दूतावासमा सम्पर्क गर्नुहोला ।’

गत हप्ता हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीले ज्यान गुमाएका थिए । एकजना बेपत्ता छन् । करिब २७० जना जति नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्