०७ असार २०८३, आइतबार
इजरायल–हमास द्वन्द्वको चपेटामा नेपाली

इजरायलबाट ४ जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो

कात्तिक ५, २०८०
काठमाडौं
इजरायलबाट ४ जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) का प्रेस संयोजक केशव साउदले जानकारी दिए । 

उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन– ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम– ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव शनिवार ल्याइएको थियो भने धामी र विष्टको शव आइतवार बिहान आइपुगेको हो । चौधरीको शव आइतवार दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । 

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सापही– ६ का आनन्द शाह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली– ३ का राजन फुलारा, डोटी लामीखाल– ८ का पदम थापा र सल्यान सारदा(३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त– ३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।

आक्रमणमा परी मृत्यु भएका बाँकी ६ जना नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतवार नै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

धनगढीबाट स्थानीय प्रशासनले पीडितको शव पुर्याउने व्यवस्था गरिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री एनपी साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्