१६ असार २०८३, मंगलबार

पर्यटक बढाउन पदमार्ग निर्माण

कात्तिक ६, २०८०
बाग्लुङ
पर्यटक बढाउन पदमार्ग निर्माण
फाइल तस्वीर

बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्य त्यहाँ पुग्ने पूर्वाधारको अभावमा ओझेलमा पर्ने गरेका छन् । 

मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा जिल्लाका यी पर्यटकीयस्थल छायाँमा परेका हुन् । कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ ।

जिल्लाको काठेखोला गाउँपालिकाले भने पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीयस्थललाई मोटरबाटो तथा पदमार्गले जोड्ने योजना बनाएको छ । पर्यटक बढाउन गाउँपालिकाले यस वर्षदेखि पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ ।

पालिकाको वडा नम्बर ४ स्थित चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पुर्याउने गरी पदमार्ग निर्माण सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षबाट पर्यटन प्रवद्र्धनका लागि सडक तथा पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए ।

उनले धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि ओझेलमा परेको हुँदा पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण गर्न थालेको बताए ।

“वसन्तापखोर निकै चर्चित र रमणीय ठाउँ हो, उच्च पहाडमा रहेको यो क्षेत्र निकै सुन्दर छ, यसले धेरैलाई आकर्षत गर्ने गरेको छ, तर अहिलेसम्म पूर्वाधारले जोडिन नसक्दा ओझेलमा परेको थियो, हामीहरुले यस वर्षदेखि पूर्वाधार विकासले जोड्नुका साथै प्रचारप्रसारलाई जोड दिएका छौँ”, उनले भने, “अहिले यहाँ बनाउन थालिएको पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ, तल जनजाति सङ्ग्रहालय र माथि वसन्तापखोर ।''

गाउँपालिकाले विनियोजन गरेको दुई लाखबाट पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए । थापाले यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिए । जनजाति सङ्ग्रहालयदेखि करिब एक हजार दुई सय मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसले पूर्णता पाउने उपाध्यक्ष थापाले बताए।

वसन्तापखोर उच्च पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमहृङ्खला अवलोकन गर्न सकिन्छ भने बागलुङलगायतका धेरै ठाउँ देख्न सकिन्छ ।

उपाध्यक्ष थापाले भने, “पर्यटक भित्र्याउन मुख्य त पूर्वाधारको विकास हुनुपर्छ । जहाँ पूर्वाधारले पर्यटकीय ठाउँ जोडिएका छन् त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।” रासस
 

salt training

कमेन्ट गर्नुहोस्