२८ जेठ २०८३, बिहीबार

दानव नदीमा डुबेर तीन युवाको मृत्यु: शोकमा अमरगञ्ज गाउँ

कात्तिक १०, २०८०
रूपन्देही
दानव नदीमा डुबेर तीन युवाको मृत्यु: शोकमा अमरगञ्ज गाउँ

कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षीय अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । उनी परिवारसँग दशैं मनाउन गाउँ आएका थिए । 

दशैंको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ अब कहिल्यै फर्किने छैनन् । कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उनको मृत्यु भयो । 

उनीसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो । मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाएका हुन् । 

कोटहीमाई गाउँपालिकाकै वडा–५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ । दशैंको टीकाका दिन अमरगञ्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए । 

प्रत्यक्षदर्शी राजदेव भरका अनुसार मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले । 'अगाडि गहिरो थियो, त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाले,' राजदेवले भने, 'उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीनजना नै डुबे ।'

दानव नदी गहिरो रहेको र तत्काल कोही पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको उनको भनाइ छ । दुर्गा मूर्ति विसर्जनमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु हुन पुग्यो । 

दशैंको दश दिनसम्म हर्षोल्लास गरी दशैं मनाएका यी तीनजना गाउँले युवाहरू एकैसाथ अस्ताए । तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ ।

डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । उनको शव फेला पर्दासम्म उनकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो ।

प्रहरी जवान अजयकुमार नाउको डेढ वर्षअघि मात्र विवाह भएको थियो । बाँकी दुईजना अविवाहित थिए । 'दुर्गा मूर्ति विसर्जनमा युवाहरूमा अर्कै जोस हुन्छ,' कोटहीमाई गाउँपालिका–१ का वडा अध्यक्ष राजेश गुप्ताले भने, 'यो दुर्घटनाले हामीलाई गम्भीर बनाएको छ, आगामी दिनमा यससम्बन्धी कठोर कदम चाल्नैपर्ने देखिएको छ ।' उनले विसर्जनअघि स्थानीय युवासँग यस विषयमा छलफल पनि गरेको दाबी गरे ।

इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले व्यस्थापनमा कुनै कमी नरहेको दाबी गरे । 'यसअघिका वर्षमा नदी वारि घटना हुने गरेको थियो, हामीले सोहीअनुसार तयारी गरेका थियौँ,' उनले भने, 'नदीमा निश्चित क्षेत्रसम्म जान मिल्ने गरी भीड व्यवस्थापन गरेका थियौँ ।'

दानव नदी पारि कोटहीमाई गाउँपालिका–५ को क्षेत्र इलाका प्रहरी कार्यालय लुम्बिनीअन्तर्गत पर्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्