
धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्मभएको छ । यसअघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो ७५० ग्रामको बच्चाका जन्म भएको हो ।
बागलुङको जैमिनी नगरपालिका वडानं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।
उक्त बच्चाको तौल चार किलोग्राम ७५० ग्राम रहेको अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो ।
पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन् ।
अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।