३१ जेठ २०८३, आइतबार

इलाका प्रहरी कार्यालय प्रमुखमाथि नै चक्कु प्रहार

कात्तिक १०, २०८०
बाँके
इलाका प्रहरी कार्यालय प्रमुखमाथि नै चक्कु प्रहार

इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीमाथि चक्कु प्रहार भएको छ । 

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि प्रनाउ तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए  ।

प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा प्रनाउ तिवारीलाई लागेको थियो ।

चक्कुको झटारोबाट प्रनाउ तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए । प्रनाउ तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए ।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन नभएको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्