
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बझाङको विद्यालयमा पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
गत असोज १६ गतेको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।
बाल विकास माध्यमिक विद्यालयको प्राङ्गाणमा एक कार्यक्रमको आयोजना गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण गर्दै सीईओ खत्रीले कम्पनीको सामाजिक उत्तर दायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।
उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भए पनि राहत मिल्ने उनको विश्वास छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीले शिक्षाका लागि कम्पनीले गरेको आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने बताए ।
आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनी र विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्ने सीईओ खत्रीप्रति उनले आभार प्रकट गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खातीको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।