काठमाडौँ ८ असोज - रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँ–निजगढ द्रुतमार्ग समयमै सम्पन्न हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले मुलुकमा जस्तोसुकै विपत् पर्दा पनि नेपाली सेनाले महत्वपूर्ण काम गरेको भन्दै काठमाडौँ–निजगढ द्रुतमार्ग समयमै सम्पन्न हुने बताउनुभएको हो ।
“द्रुतमार्ग निर्माणका लागि ९९ पुल र नौ किलोमिटर टनेल निर्माण गर्नुपर्ने र त्यसका लागि चाहिने आवश्यक सामान विदेशबाट झिकाउनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
मन्त्री प्रधानले सेनालाई दिएको जिम्मेवारी समयमै सम्पन्न गरेको भन्दै द्रुतमार्ग पनि समयमा सम्पन्न गर्ने दाबी गर्नुभयो । उहाँले भूकम्पको बेला, जुरे पहिरो, अहिले तराई क्षेत्रमा आएको बाढी हरेक क्षेत्रमा नेपाली सेनाले गरेको कामलाई उदाहरण दिनुहुँदै सेनालाई दिएको काम समयमा नै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संविधानको भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको भन्दै अब प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सरकार कटिबद्ध भएर लागेको बताउनुभयो ।