
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिवादन गरिरहेका छन् ।
भरखरै प्रारम्भ भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ । कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।
कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान शुरू गरेको हो ।
विसं २०३८ सम्म बीपीले यसलाई निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।