
दशैंको बिदाइसँगै कोशी प्रदेशको राजनीतिक परिस्थिति फेरिने संकेत देखिएको छ । दोहोरो दबाबबीच दशैं मनाएका मुख्यमन्त्री केदार कार्की दशैंको समापनसँगै नेकपा (एमाले)सँग तर्किन थालेका छन् । उनलाई मुख्यमन्त्री बनाउन एमालेले साथ दिएको थियो । एमालेका ३९ र उनकै पार्टी नेपाली कांग्रेसका ८ सांसदको सहयोगमा कार्की मुख्यमन्त्री बनेका थिए । ती सांसदहरू नेता डा शेखर कोइराला निकटका थिए ।
एमालेले आइतवार मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिइरहेका बेला मुख्यमन्त्री कार्कीले भने झापामा कार्यक्रम राखेका छन् । शनिवार भने उनी आफ्नै पार्टी कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा भाग लिन सिलसिलामा काठमाडौंमा छन् । एमालेका नेताहरूलाई आइतवार फर्केपछि छलफल गर्ने आश्वासन दिएर उनी काठमाडौं गएका थिए ।

तर त्यो आश्वासको बेवास्ता गर्दै मुख्यमन्त्री कार्की भने आइतवार झापामा हुने एक कार्यक्रममा सरिक हुने भएका छन् । ‘मुख्यमन्त्रीज्यू काठमाडौंको चियापान कार्यक्रममा जानुभएको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री शमशेर राईले लोकान्तरसँग भने, ‘ आइतवार एउटा कार्यक्रमको उद्घाटन गर्न काठमाडौंबाट झापा आउँदै हुनुहुन्छ । धेरै कुरा फोनमा भन्न मिल्दैन । आइतवारदेखि नै सरकार विस्तारबारे छलफल गर्ने कुरा मुख्यमन्त्रीले गर्नु भएको छ । म पनि इलामै छु ।आइतवार साँझसम्ममा मात्रै विराटनगर आइपुग्छु ।’
आफूले दिएको समय पटक–पटक सार्न थालेपछि एमाले भने मुख्यमन्त्री कार्कीसँग रुष्ट बन्न थालेको छ । विश्वासको मत लिएलगतै दशैँअघि नै मन्त्रिपरिषद् विस्तार गर्न एमालेले मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो । गत कात्तिक १ गते विश्वासको मत लिएका कार्की भोलिपल्ट नै काठमाडौं गएका थिए । एमालेले दिएको समय कटाएरमात्रै उनी विराटनगर आएका थिए । त्यसपछि कात्तिक १० गते शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्न एमालेले मुख्यमन्त्री कार्कीलाई भनेको थियो । दशैंको बीचमा नगरौँ भन्दै मुख्यमन्त्रीले नै रोकेका थिए ।
आइतबार मन्त्रिपरिषद् विस्तार गर्न एमालेले भनेको छ । तर सोदिन नै विस्तार गर्ने कुनै तयारी मुख्यमन्त्रीले गरेका छैनन् । यसकारण आइतवार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम रहेको मन्त्री सरकारका प्रवक्ता राईले पनि बताएका छन् ।
मुख्यमन्त्री कार्कीले आफूनिकट नेता शेखर कोइराला, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार अगाडि बढ्नका लागि सरकार विस्तार आलटाल गरेको एमालेको निष्कर्ष रहेको छ । कार्कीले भने प्रदेशको सहमतिको सरकार बनाउन पहल गर्ने बताउँदै आएका छन् ।

‘शनिवार कांग्रेसको चियापान भएकाले मुख्यमन्त्रीको हैसियतमा उहाँ काठमाडौंमा जानुभएको बुझेका छौँ,’ एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘आइतवार आउने कुरा छ । तर झापाको कार्यक्रमबारे हामीलाई थाहा छैन । आइतवार नै अब हामी सबै कुराको फाइनल गछौं ।’
पार्टी सभापति देउवाले प्रतिनिधि नै पठाएर गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न सन्देश दिएपछि कार्की थप संकटमा परेको बताइएको छ । पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कात्तिक १ गते बिहान प्रदेशका गठबन्धनका नेता तथा मुख्यमन्त्रीलाई राखेर अब मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाहेकका दललाई समेट्न निर्देशन दिएका थिए ।
अर्कोतिर एमालेले भने मन्त्रीहरूको नाम टुंगो लगाएर बसेको छ । पाँचकर्ण राई, एकराज कार्की, लीलावल्लव अधिकारीलाई मन्त्री र सिर्जना लिम्बू र रामप्रसाद मेहतालाई राज्यमन्त्रीमा पठाउने एमालेको तयारी छ ।
मुख्यमन्त्री कार्कीसँग एमालेले ५ वटा मन्त्रालय मागेको छ । यसअघि रामबहादुर राना मगरलाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाइसकेका छन् । कार्की सत्ता गठबन्धनले गरेको निर्णयविपरीत एमालेको समर्थन लिएर कांग्रेसका ८ सांसदको विद्रोहबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर उनलाई गठबन्धनले पनि विश्वासको मत दिएको थियो ।
९३ जना प्रदेशसभा सदस्य रहेको कोशीमा उपसभामुख सिर्जना दनुवार र राप्रपाका ५ सासदले भने विश्वासको मत दिएका थिएनन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले दशैंपछि लगतै एमाले प्रमुख प्रतिपक्षी हुने दाबी यसअघि नै गरिसकेका थिए । मुख्यमन्त्री कार्की पनि एमालेसँग तर्किन थालेपछि यसको पुष्टि हुँदै गएको छ ।