२३ जेठ २०८३, शनिबार

विश्वभर बर्सेनि एक करोड ३० लाख बढी व्यक्तिलाई पक्षाघात, यस्ता छन् लक्षणहरू

कात्तिक १२, २०८०
काठमाडौं
विश्वभर बर्सेनि एक करोड ३० लाख बढी व्यक्तिलाई पक्षाघात, यस्ता छन् लक्षणहरू

‘हामी सबै मिलेर काम गर्‍यौं भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ । 

एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।
 
समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा राजु पौडेल विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताउँछन् । हरेक छ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ ।

पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको डा पौडेल बताउँछन् ।

उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षाघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।

यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षाघातसम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि सङ्घले गर्दै आएको छ ।

वरिष्ठ न्यूरोलोजिस्टसमेत रहेका डा पौडेल पक्षाघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । 'विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ,' उनी भन्छन्। 

नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा पौडेल जोड दिन्छन् । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
 
डा पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गटबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । 

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा पौडेल बताउँछन् ।

पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।

नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउँछन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्