रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीको पहिरोले स्थानीयवासी सधैं त्रासमा छन् ।
विसं २०७२ को भूकम्प जाँदा थोरै पहिरो गएको भए पनि त्यस वर्षको वर्षादेखि लगातार पहिरो जान थालेपछि बस्ती र जमिन नै बगिरहेको स्थानीयवासी भीमबहादुर नेवारले बताए ।
उनका अनुसार निरन्तर पहिरो झर्ने भएका कारण वर्षामा बढी र हिउँदमा केही कम जोखिम हुने गरेको छ । वर्षाको बेला निरन्तर पहिरो झर्ने गरेका कारण विद्यालय जाने आउने बालबालिकालाई समस्या हुने गरेको उनको भनाइ छ ।
जोखिमका कारण विद्यालयका बालबालिकालाई वर्षाको समयभर वडा कार्यालयमै वडाको व्यवस्थापनमा राखेर पढ्न पठाउने गरिएको छ ।
पहिरोका कारण भुजीको ठिन्केपु पिपलडाँडा, सारिटोल, कोकर्सी गाउँको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब असी घरपरिवार विस्थापित भएका उमाकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य हेमन्त सुनुवारले बताए ।
पिपलडाँडाँबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारलगायत दलित घरपरिवारका २५ घरपरिवार पहिरोकै कारण अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।
पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयलाई समेत यसको असर परेको छ ।
नेपाल सरकारले यस ठाउँको बस्ती स्तानान्तरणको कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन नसकेको स्थानीय दशराम सुनुवारले बताए ।
रुना, ठिङ्केपु, पिपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना परेको, पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रु १० लाखको योजना परेको भए पनि त्यसले मात्र पर्याप्त नभएको पनि उनले बताए ।
उनका अनुसार जोखिमका कारण पोल्दिममा भएको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि घटेको छ ।
स्वास्थ्य ल्याब लगायतका अन्य उपकरण व्यवस्था गर्न सके र उक्त पहिरो नियन्त्रणका लागि केही पहल गर्न सके स्वास्थ्योपचार गर्न आउनेको सङ्ख्यासमेत बढ्ने सुनुवारको भनाइ रहेको छ ।
भूगर्वविदहरूलाई अध्ययन अवलोकन गराएर यस समस्याको समाधान बेलैमा नगरे यसले ठूलो जोखिम निम्त्याउने सम्भावना रहेको पनि कार्यपालिका सदस्य सुनुवारले बताए ।