०५ साउन २०८३, मंगलबार

राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउँदै

कात्तिक १३, २०८०
बुटवल
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउँदै

संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेस मंगलबार लुम्बिनी आउँदै छन् । गुटरेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लुम्बिनी आउने कार्यतालिका छ। महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा आइतबार नेपाल भ्रमणमा आएका थिए । 

लुम्बिनी विकास कोषले महासचिव गुटरेसको भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले महासचिवको भ्रमणको सबै तयारी पूरा भएको बताए । 

महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उनले बताए । ‘महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय हो, गुटरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ,’ उनले भने । 

महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा. लामाले बताए । 

गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए । नेपालले संयुक्त राष्ट्र संघको पहलमा शुरू भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहरूको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुन: स्मरण गराइने बताए । 

कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मंगलबार महासचिव गुटरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । 

उनका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सरकारी उच्चस्तरी अधिकारीहरूले स्वागत गर्नेछन् ।

महासचिव गुटरेस मंगलबार बिहान ८:३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८:५० बजे लुम्बिनीमा आइपुग्नेछन् । 

गुटरेसलाई हेलिप्याडबाट चार नम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ । कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका बिहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारुलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरूले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । 

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०:३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।

महासचिव गुटरेसले लुम्बिनीमा सालको रुख वृक्षारोपण गर्नेछन् । नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । 

महासचिवको भ्रमणलाई लिएर कोषले सरसफाई, स्वागत सत्कार जस्ता आवश्यक सम्पूर्ण तयारी पूरा गरेको योजना प्रमुख सरोज भट्टराईले बताए । उनले प्रधानमन्त्रीसँगै महासचिवको भ्रमण हुने भएकाले यसको विशेष महत्व रहेको बताए । 

null

कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ । 

लुम्बिनीभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ । भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

संयुक्त राष्ट्र संघका महासचिवको रूपमा गुरेसको लुम्बिनी भ्रमण छैटौं हो । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रूपमा भने भ्रमण भएको थिएन । तर, पनि उनीसहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नेछन् । 

संयुक्त राष्ट्रसंघका महासचिवहरू ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए। 

संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ। संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्