२३ जेठ २०८३, शनिबार

चलचित्र ‘अन्जिला’को छायांकन इलामबाट सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्ने

कात्तिक १३, २०८०
काठमाडौं
चलचित्र ‘अन्जिला’को छायांकन इलामबाट सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । 

मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायाङ्कन सुरु गरिएको छ । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको निर्माण पक्षले जनाएको छ । 

यो चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दै छिन् । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय रहनेछ । 

एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भए असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए । 

निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई चलचित्रमा देखाइने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ’इन्सपायर’ गर्छ भन्ने लागेर चलचित्र बनाउन लागेको बताए । 

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । 

‘अन्जिला’ चलचित्रमा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथामा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । 

सुदीप बरालको डिओपी रहने चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्