काठमाडौं, ९ असोज— निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दल र निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले दर्ता भएका राजनीतिक दलहरुलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (८),(९) र (१०) बमोजिम प्रत्यक्ष र समानुपातिकतर्फको राजनीतिक दल र चिन्हको क्रम निर्धारण गरेको जनाएको छ । आयोगका अनुसार प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दलहरुलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३१ को उपदफा (८) बमोजिम निर्वाचन चिन्हको क्रम निर्धारण गरिएको हो । यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका दलहरुलाई सोहि ऐनको उपदफा ९ बमोजिम चिन्हको क्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।