
राष्ट्रपति रामचन्द्र पौडेल र गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरेका थिए ।
साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताएका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।