२२ जेठ २०८३, शुक्रबार

सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्दै

कात्तिक १७, २०८०
काठमाडौं
सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्दै

सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्ने भएको छ । तिहारमा चिनी अभाव हुन नदिन सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्न लागेको वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले लोकान्तरलाई जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्न साल्ट ट्रेडिङ कम्पनीलाई निर्देशन दिएको उनले बताए । 

भारतबाट उक्त चिनी आएसँगै बजारमा अभाव नहुने उनले बताए । ठूलो मात्रामा चिनी आयात भएपछि बजारमा लुकाइएको चिनीसमेत बाहिर आउने उनको भनाइ छ । 'प्रधानमन्त्रीज्यूले २५ हजार मेट्रिक टन चिनी भारतबाट खरिद गरेर ल्याउन निर्देशन दिनुभएको छ,' लोकान्तरसँग उनले भने, 'उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी छ । साल्ट ट्रेडिङ कम्पनीबाट यो चिनी ल्याइनेछ । भारतबाट चिनी आएपछि बजारमा लुकाइएको पनि बाहिर आउनेछ । आपूर्ति सहज हुन्छ ।'

यस्तै विभागले चिनी लुकाइएको हुनसक्ने आशंकामा सादा पोशाकमा टोली खटाएर बजार अनुगमन गरिरहेको समेत उनले बताए । 

बिहीबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनी अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए ।

हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने पनि सुनिश्चित गरिएको छ । नेपाल साल्ट ट्रेडिङले शुक्रबार नै उक्त चिनी खरिद गरी खुद्रा उपभोक्तामार्फत् बजारमा ल्याउँदै छ । साल्ट ट्रेडिङसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात छ ।

salt training

कमेन्ट गर्नुहोस्