२३ असार २०८३, मंगलबार

जर्मनीमा मर्कलले कुर्सी जोगाइन् तर उग्रराष्ट्रवादी दलको पनि भयो उदय

कात्तिक २०, २०७४
जर्मनीमा मर्कलले कुर्सी जोगाइन् तर उग्रराष्ट्रवादी दलको पनि भयो उदय

काठमाडौं, ९ असोज — जर्मनीमा आइतवार भएको आमनिर्वाचनमा विजेता भएर एंगेला मर्कल चौथोपल्ट चान्सलर बन्ने भएकी छन् । तर उनको दलले पहिलाको भन्दा कमजोर प्रदर्शन गरेको छ र उग्रराष्ट्रवादीहरूको प्रदर्शन सुध्रिएको छ ।


मर्कलको क्रिस्चियन डेमोक्रेटिक युनियन र क्रिस्चियन सोसियल युनियनको गठबन्धनले जर्मनीको ७० वर्षमा सबभन्दा खराब परिणाम बेहोरेका छन् । तैपनि यो गठबन्धन नै संसदमा सबभन्दा ठूलो मोर्चाका रूपमा रहेको छ । यसले ३३ प्रतिशत सीट हासिल गरेको छ ।

सामाजिक लोकतन्त्र पक्षधर पार्टी एसपीडीले २०.५ प्रतिशत मत प्राप्त गरेको छ । यस ऐतिहासिक हारपछि उक्त दलले विपक्षमा बस्ने घोषणा गरेको छ ।

उग्रराष्ट्रवादी अल्टर्नेटिभ फ्युर डोयचल्यान्ड (एएफडी) ले तेस्रो स्थान हासिल गर्दै १२.६ प्रतिशत मत प्राप्त गरेको छ । एएफडीविरुद्ध जर्मनीका केही भागमा प्रदर्शन पनि भएका छन् ।

एएफडी दक्षिणपन्थी तथा मुसलमानविरोधी दल हो । यसको मुख्य कार्यालयबाहिर केही प्रदर्शनकारीहरूले शरणार्थीहरूलाई स्वागत छ भन्ने ब्यानर प्रदर्शन गरेका थिए । फ्य्रांकफर्ट र कोलोनमा पनि प्रदर्शन भएका छन् ।

मर्कलको गठबन्धन पहिलो स्थानमा भएपनि विश्वयुद्धपछि भएको पहिलो चुनावपछि अहिलेसम्म आउँदा उसले सबभन्दा कम मत ल्याएको हो ।

समर्थकहरूलाई सम्बोधित गर्दै मर्कलले अझै राम्रो परिणामको अपेक्षा गरेको अनि आगामी समय चुनौतीपूर्ण रहेको बताइन् ।

उनले एएफडीलाई मत दिने मानिसहरूको चिन्तालाई सम्बोधन गरी उनीहरूको विश्वास लिने समेत बताइन् ।

एएफडी शरणार्थी तथा आप्रवासीहरूमाथि मर्कलको नीतिविरुद्ध रहेको छ । पार्टीले जर्मनीमा मीनारहरूमाथि प्रतिबन्ध लगाउन माग गरेको छ र इस्लामलाई जर्मन संस्कृतिसँग अमिल्दो रहेको भनेको छ ।

यस दलका नेता बिएट्रिक्स फोन स्टोर्शले यो परिणामबाट जर्मनीको राजनीतिक व्यवस्था परिवर्तन हुने र आवाजविहीनहरूले आवाज पाउने बताए ।

आप्रवासन र इस्लामका विषयमा अब बहस हुने उनको भनाइ छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्