०९ साउन २०८३, शनिबार
जाजरकोट भूकम्प

घाइतेको उपचारका लागि भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकियो

कात्तिक १८, २०८०
काठमाडौं
घाइतेको उपचारका लागि भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकियो

जाजरकोट केन्द्रविन्दु बनाएर गएराति गएको  भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रूपमा पूर्णतयारी गरिएको छ । 

'अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि ‘फोकल पर्सन’का रूपमा नरेश श्रेष्ठलाई तोकिएको छ', उनले भने । 

घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ । 

बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ । 

प्रजिअ पोखरेलेका अनुसार हेलिकोप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा  एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । 

हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उनले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए । 

 भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए ।  

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्