
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिबारे मेयर्स फोरमले निन्दा गरेको छ ।
कात्तिक १७ गते काठमाडौं उपत्यका मेयर्स फोरमको उपलब्ध नगर प्रमुख तथा उपप्रमुखहरुको आकस्मिक बैठकले काठमाडौंका प्रमुख शाहले यही कात्तिक १५ गते सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति अत्यन्तै अशोभनीय, अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण रहेको बताएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख तथा मेयर्स फोरमका महासचिवसमेत रहेका घनश्याम गिरीले विज्ञप्ति जारी गरी शाहलाई उक्त अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती समेत दिएका छन् ।
‘२०८० कात्तिक १४ मा बूढानीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा भएको पाँचौं बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बैठकको प्रारम्भमा नै फोरमका अध्यक्ष चिरिबावु महर्जनले बैठकको एजेण्डासम्बन्धी कुरा गर्दागर्दै ‘खै म बोल्छु’ भनी माइक लिन अग्रसर हुनुभएको अवस्थामा अध्यक्षले ऐजेण्डा प्रस्तुत भएपछि छलफल गरौंला, बोल्न नपाइने भनेकै छैन’ भन्दै गर्दा ‘बोल्न नदिने भए म गएँ, तपाईँहरू नै बैठक गर्नुस्’ भनी अशोभनीय र अमर्यादित ढङ्गले जुरुक्क उठेर बैठक स्थलबाट हतारहतार बाहिरिनु भएको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा प्रस्तावित पहिलो ऐजेण्डा नेपवेष्ट, जसलाई फोहोरमैला व्यवस्थापन गर्न लगानी बोर्डले अन्तर्राष्ट्रिय बोलपत्र विधिद्वारा छनोट गरिएको संस्था जसलाई काठमाडौं महानगरपालिकाले समेत २०७८ फागुन १३ गते स्वीकृतिका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।
‘सो सन्दर्भमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवं एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २०८० कात्तिक १५ गते सामाजिक सञ्जालमार्फत् दिनुभएको अभिव्यक्ति अत्यन्तै अशोभनीय अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण छ । उक्त अभिव्यक्ति प्रमाणित गरी देखाउनसमेत चुनौती दिइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।