११ साउन २०८३, सोमबार
चाडबाड लक्षित चलचित्र

नेपाली चलचित्रका लागि तिहारः होला दशैंजस्तै फापसिद्ध ?

कात्तिक २२, २०८०
काठमाडौं
नेपाली चलचित्रका लागि तिहारः होला दशैंजस्तै फापसिद्ध ?

यसपालिको दशैं नेपाली चलचित्र (फिल्म)का लागि सफल रह्यो । दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपतिप्रसाद २ः भस्मे डन’ दुवै फिल्मले राम्रो व्यापार गरे । घरेलु बक्स अफिसमा यी फिल्मले ७ करोडमाथिको व्यापार गरिसकेको निर्माण पक्षको दाबी छ । दुवै फिल्म अहिले पनि हलमा प्रदर्शनरत छन् । 

दशैं नेपाली फिल्मका लागि फलिफाप रहँदा अबको चासो तिहारलाई लिएर छ । तिहारको अवसर पारेर यही शुक्रवारबाट निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आउँदैैछ । 

‘लुट’जस्तो सफल र यादगार फिल्म दिएका बस्नेतको यो झण्डै ७ वर्षपछिको ‘कमब्याक’ फिल्म हो । त्यसमाथि दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्काजस्ता चर्चित कलाकारहरूको अभिनय रहेका कारण पनि यो फिल्म थप प्रतीक्षित छ । फिल्मले राम्रो हाइप बनाएको छ । मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलहरूले फिल्मलाई राम्रा ‘शो’ उपलब्ध गराएका छन् । 

हाइप र यसले पाएको शोहरूका आधारमा फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ । लामो तिहार बिदाको फाइदा समेत फिल्मले उठाउनुपर्नेछ । जुन दबाब पनि फिल्मलाई छ । यद्यपि, राम्रो व्यापारका लागि फिल्मको ‘वर्ड अफ माउथे’ भने बलियो हुनुपर्नेछ । 

हल सञ्चालकहरु दशैंजस्तै तिहारमा पनि नेपाली फिल्मले दर्शक तान्ने विश्वास व्यक्त गर्छन् । 

फिल्म हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन तिहारमा ‘दिमाग खराब’ले राम्रो व्यापार गर्ने विश्वास लिएको बताउँछन् । ‘दशैंमा नेपाली फिल्म राम्रो चले । तिहारमा पनि राम्रो चल्ने विश्वास छ,’ उनले लोकान्तरसँग भने । 

तिहारको अवसर पारेर विदेशी फिल्महरूसमेत प्रदर्शनमा आउँदैछन् । ‘दिमाग खराब’ प्रदर्शनकै दिन शुक्रवारबाट हलिउडको सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ पनि प्रदर्शनमा आउँदैछ । यो पनि प्रतीक्षित मानिएको फिल्म हो । त्यसको दुई दिनपछि आइतवारबाट सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आउँदैछ । विदेशी फिल्म पनि प्रतीक्षित मानिएका कारण नेपाली फिल्मलाई चुनौती रहेको विश्लेषण समेत हुने गरेको छ । हल सञ्चालकसमेत रहेका महर्जन भने तिहारमा पनि विदेशीभन्दा नेपाली फिल्म बढी चल्ने विश्वास व्यक्त गर्छन् । 

‘दशैंमा विदेशीभन्दा नेपाली फिल्म नै बढी चलेका थिए । तिहारमा पनि नेपाली फिल्म बढी चल्ने विश्वास लिएको छु । रिभ्यू राम्रो आयो भने नेपाली फिल्म नै बढी चल्छ भन्ने लाग्छ,’ महर्जनले भने । 

क्यूएफएक्स सिनेमाजकी व्यापार विकास प्रमुख तृप्ति गिरी भने तिहारमा प्रदर्शनमा आउने ३ वटै फिल्मले राम्रो व्यापार गर्ने विश्वास लिएको बताउँछिन् । ३ वटै फिल्म प्रतीक्षित मानिएका कारण क्यूएफएक्समा शो संख्या पनि बराबरजसो दिने उनको भनाइ छ । 

‘हाम्रो अपेक्षा सबैले राम्रो गर्छन् भन्ने हो । बाँकी त फिल्मको ‘वर्ड अफ माउथ’मा भर पर्छ,’ उनले भनिन् । 

यता, ‘दिमाग खराब’का निर्माताले भने फिल्मले व्यापारमा नयाँ रेकर्ड कायम गर्ने विश्वास लिएका छन् । निर्माता रौनकविक्रम कँडेलले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा फिल्मको व्यापारलाई लिएर भनेका थिए – ‘यसपालि रेकर्ड नै ब्रेक गर्ला भन्ने अपेक्षा राखेका छौं ।’ 

घरेलु बक्स अफिसमा सर्वाधिक कमाइको कीर्तिमान ‘कबड्डी ४’को नाममा छ । उक्त फिल्मले राखेको २२ करोड कमाइको कीर्तिमान तोड्ने विश्वास ‘दिमाग खराब’का निर्माता कंँडेलले लिएका हुन् । ‘दिमाग खराब’ सामाजिक–राजनीतिक कथामा बनेको फिल्म हो । दयाहाङ, खगेन्द्र र स्वस्तिमाका अलवा अर्पण थापा, विजय बराल, सुमन कार्की, पुश्कर गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको समेत फिल्ममा अभिनय छ ।
 

salt training

कमेन्ट गर्नुहोस्