०३ असार २०८३, बुधबार

बालकृष्ण समको जन्मघर पुगे बालेन शाह, राष्ट्रिय सम्पत्ति जोगाउन महानगरले सहयोग गर्ने

कात्तिक २४, २०८०
काठमाडौं
बालकृष्ण समको जन्मघर पुगे बालेन शाह, राष्ट्रिय सम्पत्ति जोगाउन महानगरले सहयोग गर्ने

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सम्पत्ति जोगाउन सहयोग गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । शुक्रबार कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएको (करिब १३० बर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए । 

‘सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । त्रिपुरेश्वरमा खुला र जीवन्त संग्रहालय निर्माण गर्न थालेका छौँ । त्यहाँ परम्परागत र कलात्मक सिपसँग सम्बन्धित क्रियाकलाप हुनेछन् । यसबाट संस्कृति बचाउन र कला जोगाउन मद्दत पुग्नेछ । सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौँ,’ शाहले भने ।

यो क्षेत्रमा शैक्षिक र बौद्धिक क्रियाकलाप सञ्चालन गर्न समकी भाञ्जी (घर जग्गाको स्वामित्ववाला) डिलाइट सिंहले २०७५ साल काठमाडौँ विश्वविद्यालय बालकृष्ण सम शैक्षिक गुठीलाई जमिन र भवन प्रदान गरेकी छन् ।  यसको तल्लो तलामा सिंह आफैँ बसोबास गर्छिन् । उनले भेटका क्रममा भनिन्, ‘पुर्खाबाट आएको सम्पत्तिको आधा भाग आमाले पाउनु भयो । आधा भाग घरमा काम गर्ने सहयोगीलाई दिइएको थियो । जमिन टुक्रा पार्दा मौलिकता संरक्षणमा कठिन हुने भएपछि २ करोड रुपैयाँ तिरेर उहाँलाई दिएको भाग पनि मैले नै लिएँ । त्यसपछि गुठीलाई दिएकी हुँ ।’

कुराकानीका क्रममा उनले, समले स्थापना गरेको फोटो स्टुडियो, उनले कोरेका चित्र यही भवनमा रहेको बताइन् ।  वि. सं. १९९० सालको भूकम्प अघि भवन ४ तलाको थियो । माथिल्लो तलामा बार्दली थियो । त्यसलाई पुननिर्माण गरेर पूर्ववत बनाउँदा भन्दा माथिल्लो तला घटाउँदा बलियो हुने प्राविधिकबाट सुझाव प्राप्त भएपछि माथिल्लो तला घटाएर ३ तलाको बनाइएको सिंहले जानकारी दिइन् । 

२ रोपनी २ आना क्षेत्रफलमा २ वटा भवन छन् । पछिल्लो भवन काठमाडौँ विश्वविद्यालयले सवलीकरण गरेर सञ्चालनमा ल्याएको छ । प्रवेश गर्ने वित्तिकैको भवन सवलीकरण गर्नुपर्ने अवस्थामा छ । यसका लागि विश्वविद्यालयले प्रारम्भिक डिजाइन र लागत अनुमान तयार पारेको छ । संरक्षणका विषयमा विश्वविद्यालयका उपकुलपति भोला थापाले भने, ‘यस ठाउँलाई वौद्धिक बहस गर्ने, विशेषज्ञ तालिम दिने, संगीत र कलाको प्रशिक्षण प्रदान गर्ने, यस्ता विधामा अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ ।’
 
उनीहरुले तयार पारेको योजना अध्ययन गर्दै प्रमुख शाहले यस शैक्षिक गुठीको गुठीयारका रुपमा महानगरपालिका आवद्ध भएर संरक्षणको काम गर्ने बताए ।  विश्वविद्यालयले तयार पारेको योजना पुनरावलोकनका लागि उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई योजना प्रदान गरेका छन् । 

प्रमुख शाहसँग सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी, सल्लाहकार कुमार व्यञ्जनकार, आयोगका सदस्य बाबुराम भट्टराई, सुरज काफ्ले, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु सहभागी थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्