०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

प्रधानसेनापतिको लाइनमा रहेका उपरथीको राजीनामादेखि कोशीको सभामुख बन्न हानथापसम्म

कात्तिक २५, २०८०
काठमाडौं
प्रधानसेनापतिको लाइनमा रहेका उपरथीको राजीनामादेखि कोशीको सभामुख बन्न हानथापसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

मुलुक संघीयतामा गए पनि जिल्लाका सीडीओ र कर्मचारी खटाउन आफूहरूले नपाउने भएपछि प्रदेशका मुख्यमन्त्रीहरू सधैं जसो केन्द्रसँग असहमत हुँदै आएका छन् । यसैले बिहीवार प्रहरी समायोजन ऐन, संघीयता निजामती ऐन कार्यान्वयनसहितका ६ बुँदे माग राख्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई ज्ञापनपत्र नै बुझाए ।

मधेसमात्रै होइन कोशीका मुख्यमन्त्री केदार कार्कीले पनि प्रदेशको अधिकारको लागि सिंहदरबारमा नै धर्ना बस्नेसम्मको चेतावनी दिए । प्रदेशसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले प्रदेशमा अधिकार ल्याउन आफैंले सिंहदरबारमा धर्ना दिने चेतावनी दिएका हुन् ।

यतिमात्रै होइन लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले पनि केन्द्रले अधिकार नदिएकोमा शुक्रवार नै रोष प्रकट गरेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदै गएको बताएका छन् ।

शुक्रवार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए ।
००००
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । 

 सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताएका हुन् ।
००००
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद रिक्त भएको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रवार साहलाई नगर प्रमुखको पदमा काम गर्न अन्तरिम आदेश जारी गरेको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक तथा शिक्षकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले भूकम्प प्रभावितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् ।
००००
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । सैनिक स्रोतका अनुसार उनले बिहीवार राजीनामा दिएका हुन् । 

पाण्डेको नागरिकतामा उमेर सच्याएको उजुरी परेको थियो । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएलगत्तै उनी प्रधानसेनापतिको लाइनमा थिए ।
००००
मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका ४ जनाको हत्यामा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
००००
कोशी प्रदेश सभा तीन महिनादेखि सभामुखविहीन छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि प्रदेश सभामुखविहीन बनेको हो । उपसभामुख सिर्जना दलनुवारले सभा सञ्चालनको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

२०७९ पौष २८ गते निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले सरकारलाई बहुमत र्पुयाइदिन गत साउन १६ गते पदबाट राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलका नेता उद्वव थापालाई बहुमत र्पुयाइदिन उनले राजीनामा राजीनामा दिएका थिए । 

तीन महिनासम्म दिँदा पनि कसैले नलिएको सभामुख पद अहिले भने सबैको रोजाइमा पर्न थालेको छ । केही महिना अगाडिसम्म एक–अर्कालाई छोड्दै आएको सभामुख पद अहिले दलहरूलाई प्रतिष्ठाको विषय बनेको छ । कोशीको संख्यात्मक गणित र विशिष्ठ परिस्थितिका कारण दलहरुले सभामुख पदलाई प्राथमिकता दिएका हुन् । 
००००
नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो । जसअनुसार शुक्रबार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको हो ।
 प्रदेश राजधानी रहेका जिल्लासहित हरेक प्रदेशबाट कम्तीमा दुई जिल्ला समेटिने गरी नमूना जिल्ला कायम गर्ने घोषणा नेपाल टेलिकमले गरेको छ ।
००००
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सम्पत्ति जोगाउन सहयोग गर्ने प्रमुख बालेन्द्र शाहले बताएका छन् । शुक्रबार कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएको (करिब १३० बर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए ।
००००
फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष फूटबल टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । अभ्यासका क्रममा घाइते भएका टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङलाई भने टोलीमा समावेश गरिएको छैन ।
००००
दुईजना प्रहरीलाई आक्रमण गरेर कुटपिट गरी हतियार लुटपाट गर्ने ५ जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन्  । 
मोरङ अदालतले शुक्रवार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने ५ जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्