
यमपञ्चकको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले शनिबार काठमाडौंको रत्नपार्कमा २०औं ‘काग’ सम्मेलन गरेका हुन् ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान ६ बजे गरिएको थियो । करिब ४० मिनेटसम्म उनले कागलाई बोलाउँदा सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । 'मैले विगत १९ वर्षदेखि यसरी नै विभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । विशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहाना हो,' काग सम्मेलन कर्ता कलाकार दुलालले भने, 'यो रत्नपार्क क्षेत्रमा पहिलेका वर्षमाजस्तो कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमी आएको छ ।'
दुलालले पहिलो वर्ष पश्चिम धनगढीबाट काग सम्मेलन सुरु गरेका थिए । दाङ र ईलाममा केही वर्ष काग सम्मेलन गरेपछि उनले काठमाडौंमा गर्न थालेका हुन् । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक वर्ष काग तिहारमा काग जम्मा पार्ने गरेको उनको भनाइ छ । 'कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ,' उनले भने ।

यसवर्षको काग सम्मेलनमा पहिलेकोजस्तो कागको संख्या नभएको आयोजक संस्था राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालले बताए । 'हामी पनि विगत लामो समयदेखि रमेश दुलालजीसँगै छौं । कागको संख्यामा कमी आएको अनुभूति गरेका छौं,' उनले भने।
दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।
यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ ।