२६ जेठ २०८३, मंगलबार

भूकम्पपीडित नौ सय परिवारलाई राहत सामग्री

कात्तिक २५, २०८०
चितवन
भूकम्पपीडित नौ सय परिवारलाई राहत सामग्री

भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ ।

स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो । महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेका हुन् । 

यसैगरी जाजरकोटको नलगढा नगरपालिकाका प्रमुख डम्बरबहादुर रावललाई खाद्यान्न र लत्ताकपडा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टलाई खाद्यान्न र लत्ताकपडा र जाजरकोटको भेरी नगरपालिकाका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारमार्फत दुई सय बोरा राहत सामग्री हस्तान्तरण गरिएको हो । ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको छ । एक परिवारलाई २५ किलो चामल, पाँच किलो दाल र एउटा ठूलो ब्ल्याङ्केट वितरण गरिएको हो । अधिकारीका अनुसार महानगरपालिकाले रु ४० लाख हाराहारीको राहत सामग्री वितरण गरेको छ ।
 
सो क्रममा महानगर प्रमुख दाहालले दुःख साट्न भरतपुर महानगरको टोली स्थलगतरूपमा आएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा महानगरका तर्फबाट रु एक करोड दिइने बताइन् । स्थलगतरूपमा प्रभावित क्षेत्रमा पुग्नुभएका दाहालले मृतकका परिवारलाई भेट गर्नुभएको थियो । यसैगरी घाइतेलाई समेत उहाँको समूहले भेट गरेको थियो ।

उपप्रमुख चित्रसेन अधिकारीले विपद्मा सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै पालिकामार्फत प्रभावितसम्म पुग्ने प्रयास भरतपुर महानगरले गरेको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्