
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । एक सय ७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले शनिवार काठमाडौंको शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘२० औँ काग सम्मेलन’ सम्पन्न गरे ।
कलाकार दुलाले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए । उनले विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश प्रवाह गरौँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु । यसलाई आउँदो वर्षमा पनि निरन्तरता दिनेछु ।’
बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षहरूमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए । उनले सम्मेलनको शुरुवात पश्चिम धनगढीबाट शुरू गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालिएको उनले जानकारी दिए ।
‘सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न शुरू गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु,’ कलाकार दुलालले भने । पशुपक्षीको आवाज मात्र होइन उनी वाद्यवादनयन्त्र मादल, सनइ, सारङ्गी, पियानो, दमाहा, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज दुरुस्तै निकाल्ने भए पनि कलाकार दुलाल ‘काग’को आवाज निकाल्ने व्यक्तिका रूपमा परिचित छन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजना र ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो ।