
भूकम्प प्रभावित क्षेत्रमा रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभावित बालबालिका र वृद्धवृद्धाहरू बिरामी पर्न लागेपछि चिन्तित देखिएका छन् । कात्तिक १७ गते जाजरकोट केन्द्र बनाएर भूकम्प गएको भोलिपल्टै प्रभावित क्षेत्र पुगेका उनी रातदिन प्रभावित क्षेत्रमै खटिएका छन् । उनलाई प्रभावित बालबालिका चिसोले निमोनियाको शिकार बन्छन् कि भन्ने चिन्ता छ । ‘घर भत्किएर त्रिपालमा बसिरहेका बालबालिकाहरू चिसोले निमोनियाको शिकार बन्छन् कि भन्ने चिन्ता छ । झरीले चिन्ता थपिएको छ,’ सांसदसमेत रहेका शर्माले भने, ‘हिमालमा हिउँ पर्न शुरू भएसँगै पहाडी भेगमा चिसो बढेको छ । त्रिपालले न हावा रोक्छ, न भुइँको चिसो रोक्छ।’

अघिल्लो वर्षका कपडाले नपुगेर हिउँदमा न्यानो कपडा किन्नुपर्ने बाध्यतामा रहेका सर्वसाधारण जनता चिसोको मारमा परेको शर्माले बताए । ‘जनतासँग यसवर्ष न पुरानो कपडा छ न नयाँ लुगा किन्ने पैसा छ । सबै कुरा राहतकै भरमा भएपछि मान्छेको दैनिकी कति कष्टकर हुँदो रहेछ त्यो प्रभावित क्षेत्रका जनताले भोगेको पीडाबाट महसुस हुन्छ, रुकुममा रहेका नेता शर्माले लोकान्तरसँग भने ।
भूकम्प प्रभावित क्षेत्रमा चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरूको बिचल्ली रहेको उनले बताए । भूकम्प प्रभावितहरूसम्म आधारभूत औषधि पुर्याउन कोसिस गरिरहेको उनले बताए । ‘न्यानो लुगाको समस्या समाधान गर्न गरिएका प्रयासहरूले सार्थकता पाउन केही समय लाग्न सक्छ तर, त्यतिन्जेल उनीहरूको स्वास्थ्यले यो जाडोलाई कसरी सामना गर्ला चिन्ता छ,’ नेता शर्माले भने, ‘एकाध मिडियाहरूको विषयान्तरबाहेक बाँकी साथीहरूले वास्तवमा संवेदनशीलतालाई जसरी प्रस्तुत गर्नुभएको छ, त्यसले राहत वितरणको गतिमा थोरै भए पनि सहयोग पुर्याएको छ ।’

१७ गते शुक्रवारको मध्यरात भूकम्प गएकोमा १८ गते बिहानैदेखि शर्मा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनाको काममा खटिएका छन् । ‘कतिपय मिडियाले त वर्षा अन्त पठाएर जनार्दनले घाम पश्चिम रुकुममा ल्यायो भन्न पनि बेर लगाउँदैनन् । तर मिडियाहरूले भूकम्पले गरेको क्षति र प्रभावितहरूको अवस्थाबारे जुन यथार्थ कभरेज गरेका छन् त्यसले राज्य संरचनालाई पनि बढी जिम्मेवार र संवेदनशील बनाएको छ । मिडियाको सकरात्मक पक्ष नै यही हो ।’
प्रभावित क्षेत्रका घरमा राहत पुर्याउनु नै आफूहरूको दैनिकी भएको शर्माले बताए । ‘आज (आइतबार) राति ३ बजे ब्युँझिएँ । केही साथीहरूलाई फोन गरौं भनेर घडी हेरें, भो डिस्टर्ब नगरौं भन्ने लाग्यो । बिहान ५ बजेबाट फोन गरेका साथीहरूले ६ बजेतिर कलब्याक गर्नुभयो । केहीसँग थप राहतबारे कुरा भयो,’ शर्माले भने, ‘प्राकृतिक विपत्तिले मृत्यु भएकाहरूलाई लिएर हामी घाट पुग्यौं । तर बाँचेकाहरू गाँस, बास, कपास र औषधि उपचारको अभावमा मृत्युको मुखमा पुग्नु नपरोस् भन्नेमै हाम्रो ध्यान छ ।’

पूर्वमन्त्री शर्माले अहिले सिंगो मुलुकका लागि भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनस्थापना नै प्राथमिकता रहेको बताए । ‘म क्षतिग्रस्त घरका भग्नावशेषसम्म पुगेको छु , आफ्ना घरहरूको त्यो अवस्था देखेर मानिसहरू सम्झी सम्झी आँसु झार्छन् । म प्रायः त्रिपाल गाडिएका सबै ठाउँमा पुगेको छु । कैयौं त्रिपालहरू हामी आफैंले ठड्याइदिएका छौं । यहाँका जनप्रतिनिधि, पार्टी कमिटी, राजनीतिक दलका जिम्मेवार नेताहरू सबै एकैसाथ छौं । घटनास्थलदेखि घाट र शीतदेखि झरीमा हिँडेर पीडितहरूको पीडा महसुस गरेका छौं,’ उनले भने ।

आफन्त गुमाएकाहरू सहाराविहीन भएको शर्माले बताए । ‘आफन्त र अभिभावक गुमाएकाहरू तनावमा छन् । ढलेका घरका भग्नावशेष हेर्दै आँसु झार्नेहरूको आँखामा सुरक्षित वासस्थानको सुनिश्चितता कसले कहिलेसम्म गर्ला भन्ने चिन्ता प्रष्ट देखिन्छ । भोक निन्द्रा र जाडोको सामना गर्न नसकेका आमाहरूलाई औषधि मुलोको चिन्ता प्रष्ट छ,’ उनले भने, ‘सबै चिन्ताहरूलाई हटाउन, मान्छेहरूको विश्वास गर्न उनीहरूलाई आधारभूत आवश्यकता पुरा गर्नुपर्नेछ । त्यही जिम्मेवारी बहन गर्न हामी रातदिन खटेका छौं अहिले सिंगो मुलुकका लागि पनि योभन्दा अरु कुनै कुरा प्राथमिकतामा छैनन् ।’