![तिहारमा भावविह्वल एयरपोर्टको दृश्य - विदेशिने दाजुभाइसँगै थामिएन दिदीबहिनीको आँसु [भिडियो]](https://lktcdn2.prixacdn.net/media/bides_p4wnHgEJdt.jpg)
ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।
तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थिए, न तुलबहादुर नै । उनीहरू सबैको आँखा रसाएका थिए ।
माझीले विमानस्थलमा बाध्यताका कारण विदेशिन लागेको लोकान्तरलाई बताए । ‘तिहारको मध्य दिनमा यसरी बाहिरिनु पर्दा कसको पो मन खुशी हुन्छ र ?’ माझीले भने, ‘के गर्नु जानै पर्यो, जानुपर्ने मेरो बाध्यता हो ।’

रोजगारीको शिलशिलामा ओमान बस्न थालेको १० वर्ष भयो । बिदामा नेपाल आएका उनले दिदी-बहिनीसँग तिहार मनाउन पाएनन् । ‘१० वर्षपछि भाइटीका लगाउन पाउँदा दिदी-बहिनी पनि खुशी थिए, म पनि खुशी थिए तर कम्पनीले हाजिरीमा नआउने भए अर्को राख्छु भन्यो त्यही भएर यही बीचमा हिँडे’ उनले भने ।
‘भिसा क्यान्सिल गरौं भन्ने नि लागेको थियो तर यसो सोचें यहाँ बसेर पनि के गर्न’ उनले थपे ।

वैदेशिक रोजगारीका लागि हजारौं नेपालीहरू विदेशिने गरेका छन् । उनले स्वदेशमै रोजगारी भए विदेशिन बाध्य हुनु नपर्ने गुनासो गरे ।
‘हामी विदेश बसेर नेपालका नेताहरूको गतिविधि हेरिरहेका छौं, उनीहरूको भनाइ र गराइमा एक शब्द पनि मिल्दैन, विश्वास गर्ने ठाउँ नै छैन’ उनले भने ।