
सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माण गर्न दुई किस्तामा गरेर ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० मा अस्थायी आवास निर्माण गर्न सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट सम्बन्धित स्थानीय तह मार्फत बैंक खातामा उपलब्ध गराइनेछ ।
यस्तै अस्थायी आवासको पहिलो किस्ता रकम लिएर निर्माण सुरु गरी छाना छाउनु अघि वा निर्माण सम्पन्न गरी लाभग्राहीले दोस्रो किस्ताको लागि निवेदन दिनु पर्ने कार्यविधिमा उल्लेख छ । जसअनुसार लाभग्राही सम्झौताका लागि स्वयं उपस्थित हुन नसकेको अवस्थामा अनुसूची–५ बमोजिमको मन्जुरीनामा मार्फत अस्थायी आवास निर्माण सम्झौता गराउन सक्ने कार्यविधिमा उल्लेख छ ।
यस्तै अस्थायी आवास अनुदान रकम लिएर आवास निर्माण सम्पन्न नगर्ने लाभग्राही र निजका परिवारलाई नेपाल सरकारबाट उपलब्ध गराइने पुनर्निर्माण तथा अन्य सहुलियत, सेवा सुविधाबाट वञ्चित गराइने कार्यविधिमा उल्लेख छ ।
साथै अस्थायी आवास निर्माण बापत लिएको रकम सरकारी बाँकी सरह असुल उपर गरिने पनि कार्यविधिमा स्पष्ट गरिएको छ । तोकिएका लाभग्राहीलाई अस्थायी आवास निर्माण सहयोग रकम बैंक खाता बाहेक अर्को व्यवस्थाबाट उपलब्ध नहुने कार्यविधिमा स्पष्ट गरिएको छ ।