
कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले सनातन हिन्दू धर्मको माग राख्दै दण्डप्रणाम यात्रा गरेका हुन् । भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि सनातन हिन्दू धर्मको आवश्यकता रहेकाले त्यसैको कामना गर्दै आफूले दण्डप्रणाम गरेको उनले बताए ।
दण्डप्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बसेका थिए ।

व्रतका साथ यात्रा गर्न थालेको २९ वर्ष भएको उनले बताए । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।
विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्डप्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए ।
पराजुलीसँगै भतिज प्रमेशले पनि दण्डप्रणाम यात्रा शुरू गरेका छन् ।