२२ जेठ २०८३, शुक्रबार
स्थानीयकै विरोध

धरानमा नयाँ विमानस्थलको चर्चा: २० वर्षदेखिको किचलो र सस्तो लोकप्रियता

मंसिर ५, २०८०
काठमाडौं
धरानमा नयाँ विमानस्थलको चर्चा: २० वर्षदेखिको किचलो र सस्तो लोकप्रियता

सरकारले धरानमा नयाँ विमानस्थल निर्माणका लागि भनेर अध्ययन प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धरानमा नयाँ विमानस्थल निर्माणका लागि अध्ययन समिति बनाएको हो । 

विराटनगर विमानस्थलबाट मात्र ३९ किलोमिटर टाढा रहेको धरान– १७ स्थित डाँडाघोपामा विमानस्थल निर्माण गर्न मन्त्री सुदन किराँतीले नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।

गत कात्तिक २२ गते विमानस्थल निर्माणका लागि आवश्यक पहल र सहजीकरणको माग गर्दै धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङले नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका थिए ।

त्यसपछि साम्पाङले सामाजिक सञ्जालमा मन्त्री किराँतीको नाम नै उल्लेख गरेर विमानस्थल निर्माण गरिछाड्ने भनी प्रचारबाजी गरे । प्रचारबाजी गर्नुभन्दा अगाडि मेयर साम्पाङले उपमहानगरकै कार्यालयमा छलफलका लागि पत्राचार गरेका थिए । जग्गाको स्वामित्व लिएको यती एयरलाइन्सका प्रतिनिधि तीनपटक पत्र काट्दा समेत नआएपछि मेयर साम्पाङले मन्त्रालयलाई पत्र पठाएका थिए । 
 
धरानमा विमानस्थल बनाउने विषय अहिलेको भने होइन । २० वर्षदेखि त्यहाँ विमानस्थल बन्ने हल्ला चलिरहेको छ । २०६० सालमा धरान– १७ को  डाँडाघोपाका २९ स्थानीयको ७ विगाहा ५ कट्ठा जग्गा विमानस्थल निर्माणका नाममा खरिद गरिएको थियो । विमानस्थल बनेपछि रोजगारी दिने आश्वासन दिएर जग्गा बेच्न बाध्य बनाइएको तत्कालीन जग्गाधनीहरूको आरोप छ । तत्कालीन जनप्रतिनिनिधि तथा अगुवाहरूले धाकधम्की देखाएर जग्गा बेच्न बाध्य पारेको स्थानीय डम्बरकुमार श्रेष्ठले बताए ।

जग्गा खरिदपछि यत्तिकै सेलाएको विमानस्थलको विषय २० वर्षपछि पुनः चर्चामा आएको हो । तर, धरानमा विमानस्थल आवश्यक छैन भन्ने आवाज पनि प्रशस्तै सुनिन्छ । विराटनगरमा सुविधासम्पन्न विमानस्थल हुँदाहुँदै धरानमा अर्को विमानस्थल आवश्यक नरहेको स्थानीय श्यामकुमारी राई बताउँछिन् ।

‘यहाँबाट आधा घण्टामा विराटनगर विमानस्थल छ,’ श्यामकुमारीले भनिन्, ‘बरु डाँडाघोपा क्याम्पमा राम्रो विद्यालय तथा अन्य विकास चाहिएको छ । विमानस्थल हामीलाई भन्दा नेतालाई बढी चाहिएको हो ।’

डाँडाघोपा क्षेत्र

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा धरानमा मेयर कुमारबहादुर कार्की र उप–मेयर मीनकुमार सुब्बा थिए । मेयर–उपमेयरकै उपस्थितिमा धरान– १७ रेल्वेस्थित पञ्चकन्या मा.वि.मा जग्गाधनीहरूलाई भेला पारेर विमानस्थलका लागि आधा दाममा जग्गा दिन प्रस्ताव गरियो । डाँडाघोपामा त्योबेला ४० हजारदेखि ६० हजार रुपैयाँ प्रतिकट्ठासम्ममा जग्गा किनबेच हुने गरेको स्थानीय बताउँछन् । सरकारले जग्गा अधिग्रहण गरे त्यति पनि पैसा नपाउने डर समेत देखाइएको उनीहरूको आरोप छ ।

२०६० चैत १० गते नगरपालिकामा डाकिएको अर्को भेलाले धरान– १७ स्थित डाँडाघोपाको जग्गालाई ‘क’ र ‘ख’ श्रेणी भनेर दुई भागमा वर्गीकरण गर्‍यो । ‘क’ श्रेणीकालाई प्रतिकट्ठा ३२ हजार र ‘ख’ श्रेणीकालाई प्रतिकट्ठा २८ हजारका दरले पैसा दिने सूचना जारी गरिएको थियो । धरानमा विमानस्थल बनाउनका लागि जग्गा व्यवस्थापनमा तत्कालीन मेयर मनोज मेन्याङ्वोले चासो देखाएका थिए । उनकै नेतृत्वमा भानुचोकमा घण्टाघर समेत बनेकाले धरानका जनताले मनोजलाई औधी विश्वास गर्ने गरेका थिए ।

यती एयरलाइन्सले विमानस्थल बनाउने नाममा स्थानीय नेता, जग्गा कारोबारी अनि कर्मचारी खटाएर डाँडाघोपाका २५ जनाको ७ बिघा ५ कट्ठा जग्गा खरिद गरेको थियो । सोमध्ये ६ बिघा १८ कट्ठा जग्गा ‘यती इन्कर्पोरेट’ कम्पनीका नाममा पास गरियो । बाँकी ७ कट्ठा यतीका तत्कालीन प्रमोटर कुन्दनशमशेर जबराका नाममा राखिएको थियो । यती एयरलाइन्सका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भयो । प्रमोटर जबराको पनि मृत्यु भइसकेको छ ।

अहिले यती इन्कर्पोेरेट प्रा.लि.को अध्यक्षमा शेर्पाकी श्रीमती चन्दा र प्रबन्ध सञ्चालकमा यती एयरलाइन्सका पूर्व व्यवस्थापक विजयबहादुर श्रेष्ठ छन् । श्रेष्ठ अहिले हिमालयन एयरलाइन्ससँग जोडिएका छन् । 

जग्गा किन्ने बेला यती इन्कर्पोरेटका प्रतिनिधि भनिएका जग्गा व्यवसायी अशोककुमार अग्रवाल अहिले कम्पनीको सञ्चालक छन् । अग्रवालले ज्ञानेन्द्र शाहको शासनकालमा मनोजको साथ लिएका थिए । त्यसपछि अग्रवालले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टलाई ल्याएका थिए ।

त्यसक्रममा विष्टले विमानस्थलबारे केही पनि प्रतिक्रिया नदिएको स्थानीय देवानसिंह राईले बताए । विमानस्थल चाँडै बन्ने सन्देश दिन अग्रवालले हिसिला यमी भौतिक योजना तथा निर्माण मन्त्री भएका बेला धरान पुर्‍याएका थिए । तर, यमीले धरानमा विमानस्थल आवश्यक नभएको बताइन् ।

विमानस्थल नबनेको खण्डमा जग्गाधनीलाई नै जग्गा फिर्ता गर्ने सहमति भएको स्थानीयले बताएका छन् । विमानस्थल चाँडै बनाउने र स्थानीयलाई रोजगारीको अवसर दिने भनेर यतीले सस्तोमा जग्गा हत्याएको स्थानीय जीवन भट्टराईले बताए ।

धरान बजार

कुल ७ विगाहा ५ कट्ठामध्ये व्यक्तिको नाममा रहेको ७ कट्ठा जग्गामा प्लटिङ शुरू भएपछि यो विषयले विवादको रूप लिएको थियो । जग्गा व्यवसायी अशोककुमार अग्रवालको सक्रियतामा किरण राईले उक्त जग्गा किनेर प्लटिङ थालेका हुन् । प्लटिङ थालेपछि स्थानीय आन्दोलित हुँदा डाँडाघोपाको ८० बिघाभन्दा बढी जग्गा उपमहानगरपालिकाले रोक्का राखेको थियो । तर, विवादितबाहेकको जग्गा रोक्का राख्न नमिल्ने भन्दै विरोध भएपछि उपमहानगर पछि हट्न बाध्य भयो ।

विमानस्थल नबन्ने हो भने पूर्व सम्झौताअनुसार जग्गा फिर्ता पाउनुपर्ने भन्दै स्थानीय आन्दोलित भएपछि फेरि विमानस्थलको विषय चर्चामा आएको हो । धरान– १७ का वडाध्यक्ष मनोज भट्टराई मेयर र मन्त्रीले सस्तो लोकप्रियताका लागि विमानस्थलको विषय चर्चामा ल्याएको बताउँछन् ।

‘हवाई नीति २०७७’ मा एकदेखि अर्को विमानस्थलबीचको दूरी पहाडी इलाकामा २० नटिकल माइल र तराई तथा भित्री मधेशमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । तर, धरान र विराटनगरको हवाई दूरी मात्र १६ नटिकल माइल छ । धरानदेखि मात्र ३९ किलोमिटरको दूरीमा विराटनगरमा विमानस्थल छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्