
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्री भीपीएन र ओपन डीएनएस प्रयोग नगर्न आग्रह गरेको छ ।
मङ्गलवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले टिकटक चलाउन फ्री भीपीएन र ओपन डीएनएस प्रयोग नगर्न आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले व्यक्तिगत डेटा चोरी हुने, मालवेयर आउने, गोपनीयता सुरक्षित नहुने, ईमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्ने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसअघि नेपाल प्रहरीको साइबर ब्यूरोले पनि अवैध तरिकाले भीपीएन र डीएनएसको माध्यमबाट इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्नु जोखिमपूर्ण हुने बताएको छ ।
अवैध भीपीएन र डीएनएसको माध्यमबाट सामाजिक सञ्चाल चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण र बैंकिङ विवरणहरू असुरक्षित हुने ब्यूरोले जनाएको छ ।