
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले चार बुँदे सुझावसहित चलचित्र सेन्सर बोर्डलाई पत्र पठाएका छन् ।
केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा नेपालको मौलिकता, धर्म, संस्कृति, इतिहास, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसमेत दिइएको छ ।
पत्रमा पञ्चशीलता सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।
कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउन समेत आग्रह गरिएको छ ।
त्यस्तै, कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवादमा रोक लगाउने समेत सुझाव दिइएको छ ।
चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र जाँच समितिले ‘चलचित्र जाँच समितिको कार्यविधि २०७४’ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर शाहले पत्र लेखेका हुन् ।
