
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको स्पष्ट पारेको छ । अभियानका अध्यक्ष प्रसाईंले गलत मनसायका साथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको हो ।
जबर्जस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी आजदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ,' सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ' यसरी गलत मनसायका साथ कार्यक्रम गर्न स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन ।'
नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोगको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको भन्दै सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित माग भई आएमा कार्यक्रमस्थल उपलब्ध गराउनले कार्यालयले जनाएको छ ।
शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ । कुनै पनि प्रकारका गैरकानूनी गतिविधिहरूमा सहभागिता नजनाउन सम्बन्धित सबैलाई कार्यालयले सचेत गराएको छ ।
प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको छ । आजदेखि काठमाडौंको तीनकुनेमा केन्द्रित भएर आन्दोलन गर्ने प्रसाईंले बताएका थिए । जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताएका थिए ।
बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो ।
