
प्राचिन शाक्य गणराज्यको राजधानी शहर कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र पुरातत्व विभागले यसको तयारी गरेका हुन् ।
राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूले तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्ट्याइँका आधारमा मुख्य सरोकारवालाहरूसँग गरेको छलफलमा तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरिएकोे सरकारले जनाएको हो ।
शुक्रवार तिलौराकोटमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौरवको आयोजनाका रुपमा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सरकारको तर्फबाट पहल गर्ने प्रतिद्धबता जनाएका हुन् ।
उनले गौतबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्व विश्वव्यापी बनाइने उल्लेख गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाइन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको ठूलो महत्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।
तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरूद्धारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ ।
प्रस्तावित मनोनयनका सम्बन्धमा प्राप्त सुझाव र विज्ञहरूसँगको छलफलबाट अन्तिम मनोनयन तयार गर्ने कार्य अन्तिम चरणमा छ । उक्त अन्तिम मनोनयन लुम्बिनी विकास कोषका तर्फबाट नोभेम्बर ३० भित्र पुरातत्व विभागहँुदै मन्त्रालयमा पठाउने र आवश्यक पृष्ठपोषणपछि यूनेस्को विश्व सम्पदा केन्द्रमा सन् २०२४ को जनवरी २४ भित्र पेश गर्नुपर्नेछ । अन्तिम मनोनयन दर्ता भएपछि इभ्यालेसन मिसन, इकोमससहितले सन् २०२४ सम्म अध्ययन गर्ने र २०२५ मा विश्व सम्पदा समितिमा तिलौराकोटलाई सूचीकृतका लागि प्रस्ताव लगिने प्रवाधान रहेको अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा डङ्कन मार्सलले बताए । कार्यशालामा सम्पदा विशेषज्ञ डा मार्सल, प्राडा रबिन कनिङ्हमले कपिलबस्तुमा हालसम्म भेटिएका प्रमाण र विश्व सम्पदा सूचीमा सुचीकृतका आधारहरूबारे जानकारी गराएका थिए ।
अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा मार्सल (अष्ट्रेलिया)को उपस्थितिमा अन्तर्राष्ट्रिय विज्ञ प्राडा कनिङ्हम (बेलायत)सहित नेपालका तर्फबाट विज्ञहरू काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो म्याक्स डिग, डा मार्क म्यानुअल, पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य, प्राडा. राजेश राई, डा इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनी जोशी, पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरुङ, निर्देशक समितिका सदस्य सचिव एंव कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती सहितको विज्ञ समूह तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काममा संलग्न भएका हुन् ।